कानुनी प्रकृयामा जान हिंसापीडित बालिकालाई इन्सेकको सहयोग

रुपन्देही । २०८३ जेठ २७ गते

आर्थिक अवस्था कमजोर र सुस्तमनस्थिती भएकी हिंसा पीडित  १५ वर्षीया बालिकालाई इन्सेकले संरक्षण परियोजना अन्तर्गत कानुनी प्रकृयामा जानका लागि जेठ २६ गते पीडितलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सीले प्रहरी र पीडितको आमाको रोहवरमा सो रकम जेठ २६ गते हस्तान्तरण गर्नुभएको हो । १५ वर्षीय बालक पीडित बालिकाको फुपुका छोरा हुन् । आरोपितले बैशाख ७ गते पीडित बालिकालाई फकाई १० रुपियाँ पैसा दिएर नजिकैको जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले बैशाख ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई बैशाख ७ गते घरबाटै गिरफ्तार गरी कारवाही अगाडी बढाएको थियो । पीडितको स्वास्थ्य परिक्षण बैशाख ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो । आरोपित पुर्पक्षका लागि बालसुधार गृह भैरहवामा थुनामा रहेका छन् ।

पीडित बालिकाका बुबाको आठ वर्ष अगाडी नै मृत्यु भइसकेको, आर्थिक अवस्था कमजोर भएको र अति विपन्न परिवार भएकोले पटक पटक आफ्नी असक्त नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेको पीडित बालिकाको आमाले इन्सेककर्मीसँगको भेटमा भन्नुभयो ।

सहयोग रकमले आफ्नो छोरीको न्यायका लागि प्रहरी कार्यालय र अदालतसम्म जान आउनका लागि सहयोग पुग्ने पीडितकी आमाले बताउनु भयो ।

रीमा बिसी