कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

गुल्मी । २०८२ कात्तिक ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी १२ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ ।

बालिकालाई बाग्लुङ बरेङ गाउँपालिका–३ घर भई गुल्मी चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने २५ वर्षीय राजु सार्कीले असोज ११ गते बलात्कार गरेका थिए । आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले असोज १३ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ । पीडित बालिकाको परिवारले आर्थिक अवस्था कमजोर भएकाले र पीडितको न्यायमा सहजीकरणका लागि असोज ३० गते इन्सेकमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रकोटको रोहबरमा बालिकाको परिवारलाई कात्तिक २ गते नगद १० हजार रुपियाँ सहयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारुका अनुसार बालिकाका आफन्तले असोज १२ गते आरोपित विरुद्ध उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असोज १२ गते गुल्मी अस्पताल तम्घासमा भयो ।

टोपलाल अर्याल