मिथिला नगरपालिका–८ धनुषाकी ३५ वर्षीया शान्तिदेवी साह सुडीलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ चैत १२ गते १० हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ।
पीडितको आर्थिक अवस्था कमजोर भएकोले मावन अधिकार सहायता कक्षद्वारा सो रकमको चेक पीडितलाई हस्तान्तरण गरिएको इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवले बताउनु भयो । सहयोग प्राप्त गरेलगत्तै सोही दिन इन्सेकको पहलमा पीडित महिलाले पति ४१ वर्षीय नरेश साह सुडीविरुद्ध धनुषा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराउनु भएको छ ।
पीडितले चैत १० गते इन्सेक प्रतिनिधि समक्ष सहयोगका लागि निवेदन दिनु भएको थियो। आफूले वर्षौदेखि घरेलु हिंसा भोग्दै आएको बताउँदै पतिले पटक–पटक कुटपिट गर्ने तथा खर्च नदिने गरेको बताउनु भयो। उक्त विषयलाई लिएर परिवार तथा समाजमा पटक–पटक छलफल गरी मेलमिलाप गर्ने प्रयास भए पनि समस्या समाधान हुन नसकेकोले अदालत जानु परेको पीडितको भनाइ छ ।
HUMAN RIGHTS NEWS PORTAL






