कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

कैलाली । २०८३ जेठ ९ गते

बौद्धिक अपाङ्गता भएकी बलात्कार घटनाकी पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ जेठ ८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

घोडाघोडी नगरपालिका–१२ कोटाकी १७ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको परिवारिक आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

घोडाघोडी नगरपालिका–१२ कोटाका ३५ वर्र्षीय टेकबहादुर चौधरीले पीडित बालिकालाई ०८३ वैशाख २२ गते घरमा एक्लै भएको समयमा बलात्कार गरेको भन्दै पीडित परिवारले वैशाख २३ गते इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी