कानुनी सचेतना कार्यक्रम सम्पन्न
सुर्खेत । २०८० साउन १० गते
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा कानुनी सचेतना कार्यक्रम साउन ९ गते वीरेन्द्रनगर नपाको १४ नम्बर वडामा सम्पन्न गरेको छ । वडा अध्यक्ष देव बहादुर रोकायले कानूनी सचेतना कार्यक्रम जीवन उपयोगी भएको बताउँदै सहभागिहरू कानुनका विषयमा सचेत भएको बताउनु भयो । यस कार्यक्रमबाट सहभागीको उर्जा थपिएको बताउँदै वडा अध्यक्ष रोकायले यस्ता कार्यक्रमबाट नागरिकको व्यवहार परिवर्तन गर्न सकिने बताउनु भयो । कार्यक्रममा जिल्ला वार एशोसियशन सुर्खेतका सचिव अधिवक्ता खगेन्द्र खनालले नेपालमा लैङ्गिक हिंसा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, नेपालमा लैङ्गिक हिंसाका प्रकृति र जोखिम, जातीय विभेद लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समुदायमा आर्थिक अवस्था कमजोर भएका कतिपय व्यक्तिले हिंसा सहेर बस्ने गरेको बताउँदै त्यस्ता पीडितका सवालमा इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत न्यायिक प्रकृयामा जानका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, सन्धी र महासन्धीमा हस्ताक्षर गरी जनाएको ऐक्यबद्धता , नेपालको संविधानले निर्दिष्ट गरेका मानव अधिकारका मूल्य मान्यतालाई इन्सेकले पैरवीमार्फत थप सुदृढ गराउन भूमिका खेल्दै आएको इन्सेकका संयोजक सुवेदीले बताउनु भयो । सहभागीहरूले झेल्दै आएका कानुनी समस्याका विषयमा राखेका जिज्ञासामा कार्यक्रमका सहजकर्ता अधिवक्ता खगेन्द्र खनालले स्पष्ट पार्नु भएको थियो । वीरेन्द्रनगर नपा १४ मा रहेका १३ ओटै टोलका अगुवा महिला, पुरुष, किशोर किशोरी समेत गरी ४५ जना कार्यक्रममा सहभागि रहेको अधिकार दुई परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
HUMAN RIGHTS NEWS PORTAL






