लुम्बिनी प्रदेशमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारको समन्वयमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र प्लान इन्टरनेशनल नेपाल, क्षेत्रीय कार्यालयबीच ०८३ भदौ १० गते भएको छलफलमा प्रदेशअन्तर्गतका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय अधिकारीलाई सहभागी गराई कार्ययोजनाबारे अभिमुखीकरण गर्ने सहमति भएको हो ।

छलफलका क्रममा छैटौँ राष्ट्रिय कार्ययोजनालाई जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत सहमति भएको छ । कार्ययोजनामा समेटिएका मानव अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी प्रावधानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका छन् ।
यसै सन्दर्भमा इन्सेक र प्लान इन्टरनेशनल नेपालको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाट गरी अनुभव आदानप्रदानसमेत गरेको थियो । भेटका क्रममा मुख्यमन्त्री आचार्यले मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
छलफलमा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली, कार्यक्रम विशेषज्ञ झलक विश्वकर्मा तथा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रदेश संयोजक भोला महत र कार्यक्रम अधिकृत टेकनाथ आचार्य सहभागी हुनुहुन्थ्यो ।
HUMAN RIGHTS NEWS PORTAL






