राइट्स क्लिनिकद्वारा ०८२ मङ्सिर २७ गते जनकपुरमा आयोजित आसन्न आम निर्वाचन: जेनजी युवा र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले जेनजी आन्दोलनले ल्याएको परिवर्तन टिकाइ राख्नका निमित्त निर्वाचन जरुरी छ भन्दै निर्वाचनको अनुगमनमा आजैबाट सबै लागी पर्न अनुरोध गर्नु भयो ।
जेनजी आन्दोलनले युवा पुस्ताको सोच सशक्त बनाएको र यसको उपयोगले आम निर्वाचन निष्पक्ष र भय रहित सम्पन्न गराउनका निम्ति समेत खबरदारी गर्नु पर्नेमा जोड दिनु भयो ।

सेना परिचालनको हल्लाबीच सबै नागरिक मिलेर सरकारद्वारा नै निर्वाचन सम्पन्न गरिने वातावरण बनाउनका लागि चौतर्फि दबाब दिन आवश्यक रहेको भन्दै सचेत मतदाताको भूमिका निर्वाह गर्न अपिल गर्नु भयो ।
भदौ २३ गतेको आन्दोलनले राज्यको जबाफदेहिता निरिह अवस्थामा देखा पर्नुले संविधानको खिल्लि उडाएको धारणा राख्नु भयो ।
भोट हाल्न जनता चाहिए जस्तै जनताले बोल्न पाउनु पर्छ भन्दै राजनीतिक पार्टीले आफ्नो आचरण अनुसार जनताप्रति जबाफदेही र संवेदनशील बन्नुपर्ने बताउनु भयो ।

निर्वाचनमा जेनजी युवा र महिला सहभागिताबारे सहभागीले राखेका जिज्ञासाबारे बोल्नु हुँदै मधेश प्रदेश सभा सदस्य शारदा थापाले बाध्यात्मक स्थिति अनुरुप महिलाले प्रतिनिधित्वसम्मको भूमिका पाएका छन् तर निर्णायक तहमा महिलालाई अझै अवसर प्राप्त भइ नसकेको बताउनु भयो ।
त्यसैगरी प्रदेश सभा सदस्य रामआशिष यादवले युवाहरुले पनि राजनीतिबारे गहन अध्ययन गरी यस क्षेत्रमा आउँदा अब युवाले देशको राजनीतिक अस्थिरता हटाउन सक्ने बताउँदै जेनजी पुस्ता इतिहास रहेको पुस्ता भएको हुनाले निर्वाचनमा सहभागी बनेर देश विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो ।
पूर्व माननीय परमेश्वर साहले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पनि सरल ढंगले खुला भएर नेतृत्वदायी भूमिकामा अग्रसर हुनु पर्ने भन्दै आफ्नो एजेण्डाका लागि लड्नु पर्ने बताउनु भयो ।

त्यसैगरी नेपाली काँगेसका धनुषा जिल्ला उपसभापति गणेश झाले खर्चिलो चुनावी वातावरण रहेको हुँदा किन भोट ? र केका लागि भोट दिने भनेर मतदाताले बुझ्न सकेमा मात्र भष्टाचार निर्मुल हुने, त्यसैले मतदाता शिक्षा प्रभाबकारी बनाउन नितान्त आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचन सन्दर्भमा मधेश प्रदेशको अवस्थाबारे इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा राइट्स क्लििनिकका सदस्य संस्थाहरु, बुद्धिजिवि, महिला लैङ्गिक अल्पसंख्यक समुदाय तथा जेनजी युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






