निर्वाचनमा महिला सहभागिता सुनिश्चितताका लागि ध्यानाकर्षण पत्र
सिरहा । २०७९ वैशाख १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा, मानव अधिकार रक्षक सञ्जाल सिरहा, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्रलगायतका संस्थाहरूले महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न राज्यका सबै संयन्त्रहरूको ध्यानाकर्षण गर्न र निर्णायक तहमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूमा दबाब सिर्जना गर्ने मुख्य उद्देश्य सहित सिरहाका राजनीतिक दलका अध्यक्षहरूलाई चैत ३० गते ध्यानाकार्षण पत्र बुझाएका छन् ।

पाँच वर्षअघि स्थानीय तहको निर्वाचनमा १ लाख ४८ हजार ३ सय ६४ जनाले उम्मेदवारी दिएकामध्ये ६१.०१ प्रतिशत पुरुष र ३८.९८ प्रतिशत महिलाको सहभागिता थियो । निर्वाचित ३५ हजार ३४ जनप्रतिनिधिहरूमध्ये ५९.०४ प्रतिशत पुरुष र ४०.९६ प्रतिशत महिला थिए । समग्रमा स्थानीय तहको निर्वाचनले महिलाहरूको ४० प्रतिशत सहभागिता सुनिश्चित गरेको थियो । जम्मा निर्वाचित प्रतिनिधिहरूमध्ये १८.७५ प्रतिशत दलित महिलाको उपस्थिति रहेको थियो । ध्यानाकर्षण पत्र बुझ्दै जिल्लाका राजनीतिक दलका अगुवाहरूले आफूहरूले यो ध्यानाकर्षण पत्रलाई गम्भीर रूपमा लिएको र महिलाहरूको नेतृत्वको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
दुर्गा परियार
HUMAN RIGHTS NEWS PORTAL






