नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० प्रकाशनपूर्व वार्षिक समीक्षा आरोपितको स्वच्छ सुनुवाईलाई पनि ध्यान दिन सुझाव


दाङ ०७६ पुस २ गते ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते घोराहीमा सम्पन्न भएको छ । वर्षपुस्तकका लागि दाङमा संकलन गरिएका २ सय २४ घटनामा सवैभन्दा धेरै महिला हिंसाका घटना छन । जसमा ६९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका छन । यो वर्ष १ सय ७९ वटा घटना गैरराज्य पक्षबाट, ३५ घटना राज्य पक्षबाट र १० घटना अज्ञातपक्षबाट भएका छन ।
पूर्व समीक्षाका लागि ७९ बलात्कार तथा बलात्कार प्रयास, आस्था वन्दीका घटना २२, कुटपिट ५७, जातिय विभेद १, अपहरण ३, अपहेलना २२, मानव वेचविखन तथा ओसारपसार ४, कथित वोक्सी आरोप ३, वन्द÷हडताल÷तालावन्दी १५, बम विस्फोट १, नागरिक वेपत्ता १, दुव्र्यवहार ८ लगायत २ सय २४ घटना प्रस्तुत गरिएको थियो । मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले पीडितजस्तै आरोपितका समस्याप्रति पनि गम्भीर हुनुपर्ने र इन्सेकले यस्ता विषयलाई पनि वर्षपुस्तकमा समेटनुपर्ने सुझाव दिए ।
कुनै घटनाका आरोपित कारागार बसेको एकवर्षपछि निर्दोष सावित भए उसमाथि क्षति र उसको अधिकार के हुन्छ जिल्ला कारागारका जेलर विष्णु पाण्डेले भन्नुभयो,– इन्सेकले यस्ता आरोपितहरुको स्वच्छ सुनुवाईका विषय पनि समेटनुपर्छ । उहाँले अन्य कैदी, वन्दीका आधारभूत अधिकारका विषयलाई वर्षपूस्तकमा समेटन सुझाव दिनुभयो । कार्यक्रममा दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले वर्षपूस्तकले कानुनको कार्यान्वयन गर्न बसेकाहरुलाई झकझक्याउने काम गरिरहेको भन्दै गलत गर्नेहरुलाई सच्याउने कामसमेत गरेको बताउनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्रकुमार मल्लले पीडितको वयान फेरिनुमा राजनीतिक दलको दवावले काम गरेको उल्लेख गर्दै नीतिगत सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले वर्षपूस्तकले नीतिगत सुधारका लागि दवाव सिर्जना गर्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य विवेक श्रेष्ठले पीडितलाई न्यायकै लागि दवाव दिनुपरेको भन्दै सहजीकरणलाई दवाव भन्न नमिल्ने बताउनुभयो । यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले हरेक नीति मानवअधिकारमैत्री हुनुपर्ने भन्दै पाठ्यक्रममै मानवअधिकारको विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले गम्भीर प्रकृतिका घटनामा होस्टायल हुनु मानवअधिकारको दृष्टिले राम्रो संकेत नभएको बताउनुभयो । इन्सेक जिल्ला सहजकर्ता विनोद केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले घटना प्रस्तुत गर्दै दिइएका सुझाव अभिलेख गर्नुभएको थियो ।

जयनारायण पुन