नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
सप्तरी । २०७९ असार १७ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार सन् २०२२ को ६ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा ४४ ओटा मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार यस अवधिमा बढी चर्चामा रहेको घटनामा देवरले मट्टितेल छर्केर आगो लगाई हत्या गरेको छ । बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा गिरफ्तार परेका देवर २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देबकुमारी सदाको हत्या आरोपमा ४९ वर्षीय पति अगहनु सदा ५० हजार रुपियाँ धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।

यो वर्ष गैरराज्यबाट तीन ओटा हत्याका घटनामा २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको छ । आरोपितहरु १६ मध्ये थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुन सकेको छैन । प्रतिवेदन अनुसार बालिका बलात्कारका १० घटनामा १८ वर्षभित्रका १० जना पीडित भएका छन् । आरोपित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका १५ जनामध्ये पाँच जना पुर्पक्षका लागि थुनामा, पाँच जना बालसुधार गृहमा छन् । आरोपित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै गिरफ्तार भएका छन् । महिला बलात्कारका घटनामा २५ देखि ४० वर्ष उमेर समूहका तीन जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा १८ देखि ३० वर्ष उमेर समूहका पाँच जना आरोपितमध्ये एक जनाले सफाई पाएका छन्, एक जना हालै गिरफ्तार परेका छन् भने तीन जना फरार छन् । महिला बलात्कार प्रयासको एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । आरोपित दुई मध्ये एक जना धरौटीमा रिहा भएका छन् भने एक जना फरार छन् ।
अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई जना फरार छन् । यो अवधिमा बहुविवाहका पाँच, गर्भपतनको एक, मानव बेचबिखनको एक, अपहरण उद्योगको एक, अभद्र व्यवहारको एक, घरेलु हिंसाका तीन घटना अभिलेख गरिएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत चार ओटा घटना, धम्कीको एक, झडपको एक घटना अभिलेख गरिएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले होस्टाइलको बढ्दो प्रवृतिले न्याय सम्पादनमा असर परेको बताउनु भयो । अनुसन्धान र अदालतमा फरक बयान दिनाले निर्दोष फस्ने र दोषी उम्किने भय उत्पन्न भएको बताउँदै हुँदै उहाँले घटनाको फैसालासम्म समेटने इन्सेकको कार्य महत्वपूर्ण रहेको बताउनु भयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिकमा चेतना बढे र सरोकारवाला जिम्मेवार बने मात्र शान्ति, न्यायपूर्ण र सभ्य समाज निर्माण हुने बताउनु भयो । आफूले फैसला गर्दा न्याय हुने कुरामा अत्यन्त सजग रहेको बताउँदै उहाँले चित्त नबुझ्ना साथ तालाबन्दी, सडक अबरुद्ध गरिहाल्ने परिपाटीले अन्तत सेवाग्राही जनताकै मानव अधिकार उल्लङ्घन हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो । नागरिकको सहयोग र सचेतना बिना प्रहरीले पूर्ण सफलता नपाउने भन्नुहँदै जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बढ्दो लागु औषध र बलात्कार, विवाहमा डिजे र पड्का फोड्ने प्रवृत्ति निरुत्साहित गर्न नागरिकको भूमिकाको खोजी गर्नु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
HUMAN RIGHTS NEWS PORTAL






