नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बझाङ । २०८० असार १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८० असार ११ गते चैनपुरमा सम्पन्न भएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुका सन्दर्भमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्ममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना राज्यसँग सम्बन्धित हुने भएकोले सुरक्षा निकायले मानव अधिकार हनन्का घटनामा शून्य सहनशीलताको नीति लिएको बताउनु भयो । उहाँले इन्सेकले जिल्लामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएकोले आगामि दिनमा इन्सेकले जिल्ला कार्यालयहरु स्थापना गरी मानव अधिकार अभियानलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनु भयो । नेपाल पत्रकार महासंघ, बझाङ शाखाका निवर्तमान अध्यक्ष जगदीस रोकायाले मानव अधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले समाचार सम्प्रेषण गर्र्दा आधार हुनेगरेको उहाँको भनाइ छ । उहाँले मानव अधिकार हनन्का घटनामा कमी ल्याउन तथा निरुत्साहित गर्न सबै सरोकारवालाहरुको पहलकदमी आवश्यक रहेको बताउनु भयो ।

खाध्यअधिकार सञ्जाल, बझाङकी संयोजक सिता सिंहले शिक्षा, स्वास्थ्य र खाध्यका विषयलाई मानव अधिकार वर्ष पुस्तकमा समावेश गरेको भए पनि मुख्य प्राथमिकताका विषय बनाउनु पर्नेमा जोड दिनु भयो । जिल्लामा इन्सेकले पीडितहरुको न्यायमा पहुँचका लागि सहयोग गरेकाले यसको शाखा स्थापनाका लागि सबैले पहल गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । पत्रकार रमेश केसीले मानव अधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन तयार गरेर सञ्चारकर्मीहरुका लागि समेत नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण सूचनाको स्रोतका रूपमा रहेको बताउनु भयो । इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले सन् २०२३ जनवरीदेखि जुनसम्मका ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस ६ महिनाको अवधिमा जिल्लामा पाँच बलात्कार तथा बलात्कारको प्रयासबाट पाँच, जातिय विभेदबाट एक, बहुविवाहबाट एक र घरेलु हिंसाबाट ९४ जना गरी १ सय १ जना पीडित भएको तथ्याङ्क इन्सेक बझाङ प्रतिनिधि सिंहले समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
सत्यराज सिंह
HUMAN RIGHTS NEWS PORTAL






