नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
सर्लाही । २०८१ असार १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १४ गते सर्लाहीमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले सन् २०२४ को जनवरीदेखि जुन २७ सम्मका घटनाहरू सङ्कलन गरी मानव अधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
हत्या घटना चार, यौन दुर्व्यवहार तीन, बलात्कार २५ , बलात्कार प्रयास १४, झडप दुई, कुटपिट ६, कथित बोक्सी आरोप चार, बहुविवाह तीन, आगजनी तीन, जातीय विभेद दुई, घरेलु हिंसा ४६ गरी एक सय १२ ओटा घटना अभिलेखिकरण गरिएको छ ।
इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेख गरेर राज्य तथा सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउने कार्य सराहनीय रहेको मलंगवा नगरपालिकाका उप-प्रमुख सकुन्तला देवी साहलले बताउनुहुँदै इन्सेकले यस्ता खालका घटनाहरूलाई न्यूनीकरण गर्नका निम्ति जिल्ला भरीका स्थानीय तहसम्म पुगेर मानव अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सल्लाह दिनु भयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले संविधान प्रदत्त बाँच्न पाउने अधिकारसँगै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्म दलित तथा विपन्न समुदायका मानिसहरूकाे सहज पहुँचहुन नसकेकाे बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय मलंगवाका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले इन्सेककाे कायर्यक्रमा आफू बाेलाएकाेमा खुसी लागेकाे बताउनुहँदै इन्सेकले मानव अधिकारकाे क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सरहानीय रहेकाे बताउनु भयाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहले अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विगत लामाे समयदेखि प्रकाशन गर्दै आएकाे नेपाल मानव अधिकार वर्ष पुस्तक एउटा सामान्य पुस्तक मात्र नभएर हाम्राे समाजकाे मानव अधिकार अवस्थाकाे यथार्थ चित्रण भएकाे बताउनु भयाे । इन्सेकका ७७ ओटै जिल्लाका प्रतिनिधिहरूले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सङ्कलन र सराेकारवाला निकायसँग पुष्टि तथा पुनर्पुष्टि गर्ने कार्य सराहनीय रहेकाे भन्नु भयाे । त्यस्तै न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सके पीडितले सहज र छिटो छरितो रुपमा न्याय पाउन सक्ने सभापती सिंहले बताउनु भयाे ।
बुधन साह
HUMAN RIGHTS NEWS PORTAL






