नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

काभ्रे । २०८२ असार ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित हुँदै आएको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा गैरसरकारी संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा असार ३० गते बनेपामा सम्पन्न भयो ।

अध्यक्ष दोङले अझै पनि जिल्लामा महिला तथा बालबालिका घरेलु हिंसाबाट पीडित हुने गरेको बताउनु भयो । उहाँले यसका लागि मानव अधिकार सचेतना कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गर्न इन्सेकलाई सुझाव दिनु भयो ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जनजाति समुदायबाट हिंसाका घटना बढी आउनुमा शिक्षाको अवस्था कमजोर भएको बताउनु भयो । उहाँले अहिले मानव अधिकार समुदायको आवाज मधुरो भएको उल्लेख गर्दै सङ्ंक्रमणकालीन न्यायका संयन्त्र कमजोर भएकाले सशस्त्र द्वन्द्वका पीडितले अझै न्याय नपाएको उल्लेख गर्नु भयो । मानिसहरूको आर्थिक अवस्था बलियो बनाउन सकेमा मात्र हिंसाका घटनामा कमी आउने भएकाले सचेतनामूलक कार्यक्रममा सञ्चालन गर्न उहाँले जोड दिनु भयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२५ को ६ महिनामा मानव अधिकार उल्लङ्घनका ६० र घरेलु हिंसाका ५३ ओटा गरी १ सय १३ ओटा घटना इन्सेकले जिल्लामा अभिलेख भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

यस अवधिमा बलात्कारका १६, बालविवाह, जातिय विभेद र एसिड प्रहारका एकएक ‌ओटा, ज्यानमार्ने उद्योगका ११, हत्याका तीन ओटा, कुटपिट तीन,  बलात्कार प्रयासका ११ ‌ओटा घटनाहरू अभिलेख भएका हुन् ।

मानव अधिकार सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा महिला र बालवालिकाको सवाल मानव अधिकारका मुख्य सवालका रुपमा रहेको उल्लेख गर्दै समाजमा जातिय विभेद, बालविवाह, बलात्कार, हिंसा र दुव्र्यवहारका घटना बढ्दो रहेको उल्लेख गर्नु भयो ।

      

द्वन्द्वपीडित पूर्णिमाया लामाले आफ्नो पति अर्जुन लामालाई हत्या गरेको यत्रो समय बित्दा पनि न्याय नपाएको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतले घटनाको अनुसन्धान गर भन्दा पनि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान नै नगर्ने, अदालतले पूर्ण पाठ नै नदिने कुरा राम्रो नभएको उल्लेख गर्दै अझै न्यायको आश नमरेको बताउनु भयो । द्वन्द्वपीडित मनकुमारी रञ्जितले शान्ति प्रक्रियामा समेत पीडितहरूको बेवास्ता गरिएको उल्लेख गर्दै मानवअधिकार रक्षकहरूले द्वन्द्वपीडितको घरमा पुगेर उनीहरूको अवस्थाका विषयमा अध्ययन गर्न जोड दिनु भयो । धेरै पीडित महिला घरमा बस्न नसकेर माइतमा गएर बसेको, धेरै पटक बेहोस भएको र धेरैले मानसिक स्वास्थ्यको औषधी समेत खानु परेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी रंजिता कार्कीले हिंसापीडित महिलाहरूलाई न्याय दिनका लागि सङ्घसङ्स्थाहरूले सहयोगी भूमिका निभाउनुपर्ने उल्लेख गर्नु भयो । माइती नेपाल काभ्रेकी कोअर्डिनेटर गायत्री गौतमले अहिले ग्रामिणस्तरमा सचेतनाका कार्यक्रम आवश्यक भएको बताउनु भयो । उहाँले नेपालको वर्तमान अवस्थाका कारण वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले महिला र बालवालिका बेचविखनको जोखिममा रहेको समेत उल्लेख गर्नु भयो ।

महिला अधिकारकर्मी कल्पना विश्वकर्माले महिलाहरूले सहज ढङ्गबाट नागरिकता प्राप्त गर्न नसकेका कारण हिंसामा परेको उल्लेख गर्नु भयो । अधिकारकर्मी निर्मला काफ्लेले हिंसापीडित महिलालाई सुरक्षित गृहमा राखेर मात्र नहुने उल्लेख गर्दै महिलाका मानव अधिकारका सवाल घटना सङ्ख्याको आधारमा मात्र विश्लेषण गर्न नहुने बताउनु भयो ।

पत्रकार राजकुमार पराजुलीले अघिल्ला वर्षका घटनाहरू अध्ययन गरेर घटना सङ्कलन मात्र नगरी सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाब दिनु भयो । टाढाका बस्तीबाट हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन नसक्नुका कारणहरू पहिल्याउन उहाँले जोड दिए ।

सुमित्रा आचार्य