नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बर्दिया । २०८२ पुस ९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यमा पुष ८ गते बर्दियाको गुलेरियामा सम्पन्न भएको छ ।

समीक्षामा बोल्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सन् २०२५ मा बर्दियामा घटेको घटनाहरू वर्ष पुस्तक मार्फत सार्वजनिक हुने हुँदा यसमा उल्लेखित तथांकको आधारमा कार्ययोजना निर्माण गर्न सहज हुने  बताउदै मानव अधिकार उलंघनको घटना हुन नदिन समुदाय स्तरमा जनचेतना जगाउदै परम्परागत रूपमा चल्दै आएका संघ/संस्था, बडघर, धार्मिक गुरूलाई समाजप्रति थप जिम्मेवार र सचेत बनाउन जरुरी रहेको कुरा औल्यानु भयो । साथै उहाँले समाजमा अझै पनि दबिएर रहेका घटनाहरूलाई बाहिर ल्याउन इन्सेक लगायतका सरोकारवाला निकाय लाग्न जरुरी रहेको धारणा व्यक्त गर्दै मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायहरूले कार्यक्रम गर्दा सहकार्य गरेर काम  गर्न सके अझै प्रभावकारी परिणाम आउनसक्ने सुझाब दिनुभयो।

 

जिल्ला अदालतका श्रेस्तेदार कमल घलेले अदालतले न्याय सम्पादन गर्दा पर्याप्त प्रमाणहरूको आधारमा फैसला गर्ने गरेको बताउदै कहिलेकाहीँ घटनाका पीडितले न्याय पाउँदा कसुरदारको कम सजाय हुँदा न्याय नपाएको महशुस हुने गरेको देखिएपनि अदालतले सजाय दिदाँ  कम वा बढी भन्ने नहुने प्रमाण र कानुनमा भएको व्यवस्था अनुसार नै सजाय निर्धारण हुने गरेको जानकारी दिनुभयो । साथै उहाँले अदालतमा दर्ता भएका मुद्दामध्ये बालबालिकाको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अदालतले काम गर्दै आएको बताउनु भयो ।

 सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता बुद्ध बहादुर थापाले प्रहरी अनुसन्धान गरेर ल्याएको प्रमाणको आधारमा कार्यालयले मुद्दा चलाउने गरेको जानकारी दिदै कहिलेकाहीँ समाजका अगुवाहरूले जघन्य प्रकृतिको  मुद्दा मेलमिलाप गराइदिने गरेको हुँदा गाउँका अगुवा बडघरहरूलाई कानुनीको बारेमा जानकारी गराउन  आवश्यक रहेको औल्याउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज अवस्थीले प्रहरीले मुद्दाको अनुसन्धान गर्दा मानव अधिकार हनन् नहोस् भनेर ध्यान दिने गरेको बताउनु भयो । साथै उहाँले मानव अधिकार उल्लंघन हुन नदिन प्रहरीले समुदायमा सचेतना मूलक  कार्यक्रम  गर्नेगरेको जानकारी दिनुभयो।

नागरिक समाजकी संयोजक हिमा सुनारले बर्दियामा भएका घटनाहरूको विवरण हेर्दा बालबालिका बढी पीडित र प्रभावित भएको हुदाँ जिल्लामा क्रियाशील सङ्घसंस्थाले मानव अधिकार घटना न्यूनीकरण गर्नका लागि सचेतना मूलक कार्यक्रम गर्न आवश्यक देखिएको बताउनु भयो ।

नेपाल पत्रकार मंहासंघका अध्यक्ष निर्मल घिमिरेले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकका लागि घटना संकलन  अत्यन्तै मेहनत गरेर गर्ने गरेको बताउदै वर्ष पुस्तक पत्रकारहरुको लागि अध्यन सामग्री तथा समाचार लेख्न श्रोतको रुपमा सहयोग पुगेको बताउनु भयो ।

भूमी अधिकार मंचका होमेन्द्र थाहाले मानव अधिकार वर्ष पुस्तकमा गाँस, बाँस र कपासको बिषयबस्तु पनि  समावेश गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बर्दिया जिल्ला इन्सेक प्रतिनिधि प्रकाश पौडेलले जिल्लामा १ जनवरी २०२५ देखि १५ डिसेम्बरसम्म संकलन गरिएको मानव अधिकार उलंघन र ज्यादतीका घटनाहरुको प्रस्तुत गर्दै बाल अधिकार हननका -३३, महिला अधिकार हनन्–५०, धम्की –सात, अमानविय ब्यबहार –पाँच, हत्या-तीन, कुटपिट- एक र ध्वंसात्मक गतिविधिमा संलग्न – एक गरि १ सय घटनाहरु संकलन गरेको जानकारी दिनुभयो । घटनाहरुमा महिला अधिकार हनन र बालबालिकाको अधिकार अन्तर्गत बलात्कार र घरेलु हिंसा अत्यधिक रहेको बताउनुभयो ।

प्रकाश पौडेल