नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

कालीकोट । २०८२ पुस ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कालिकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ५ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले सन् २०२५ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित ३३ ओटा घटनाहरु समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुको थियो। जिल्लाको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार तथा स्वास्थ्यको अधिकारका सवालमा समेत छलफल गरिएको थियो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले मानव अधिकार सम्बन्धी गम्भीर सवालहरु इन्सेकले उठान गरेको भएता पनि कतिपय छुटेका सवालहरु वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो । साथै उहाँले जेनजी आन्दोलनका क्रममा भएको घटनाहरु अभिलेख गरिएको भएको भएपनि केही गाउँतिरका घटना छुटेकाले समेटनु पर्ने सुझाव राख्नु भयो ।

 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकारका लागि ठूलो सहयोग पुगेको बताउँदै पीडितलाई कानुनी पहुँचसम्म पुर्याउन इन्सेकसँग सहकार्य र समन्वय भइरहेको बताउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, कालिकोटका अध्यक्ष दिलिप कुमार शाहीले मानव अधिकार हननबाट पीडित भएकाहरुको सबैभन्दा धेरै मानव अधिकार रक्षकहरुले वकालत गर्ने भएकाले गैर सरकारी संस्थामा काम गर्ने मानव अधिकार रक्षकहरु जोखिममा रहेको बताउनु भयो ।

कार्यक्रममा राजनीति दलका तर्फबाट नेपाली कांग्रेसका अम्मबहादुर शाही, एमालेका विश्वनाथ सिंखडा, नेपाली कम्युनिष्ट पार्टीका सिर्जना शाही, नागरिक समाजका अध्यक्ष दमराज बम, युवा मानव अधिकार रक्षक सञ्जालका संयोजक निस्ता कार्की, मानव अधिकारक रक्षक सञ्जालका संयोजक डिल्ली चौलागाँई, अधिवक्ता राजु बोगटी लगाएतको सहभागिता रहेको थियो ।

कालिबहादुर मल्ल