नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा २०८२ पुस १६ गते बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ ।
इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२५ मा जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २ सय ३४ ओटा घटना अभिलेख गरेको बताउनु भयो ।
जसमा हत्याका सात, कुटपिटबाट घाइते १२, अभद्र व्यवहारका १ सय १० र अपहरणको एक, महिला अधिकार अन्तर्गत बलात्कारका २५, घरेलु हिंसाका ७० (महिला ६४, पुरुष ६), बलात्कार प्रयासका दुई, बाल अधिकार अन्तर्गत बालविवाह एक र यौन दुव्र्यवहारका चार, एसिड प्रहारको एक, जातीय छुवाछुतको एक ओटा रहेका छन् ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले वर्ष पुस्तकले मानवअधिकार सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हिंसाका रुप र स्वरुप बदलिएको अवस्थामा सचेतनाका कामका तौरतरिका बदल्न आग्रह गर्दै अहिलेको अवस्थामा कोहीले कसैलाई नटेर्ने भएको हुँदा सबैमा उत्साह, हौसलाका साथै मनोबल बढाउन आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेको महिला तथा बालबालिका शाखाका पुरुषोत्तम अवस्थीले हिंसाका घटनामा कमी देखिएपनि बलात्कार, बाल यौन दुव्र्यवहार र आत्महत्याका घटनामा कमी नआएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले मानिसहरूलाई सामाजिक सञ्जालबाट प्रताडित बनाउने र यस्तो अवस्थामा बोल्न पनि नसकिने कुरा मानवअधिकारका विषयबस्तुमा पर्छ वा पर्दैन भनी भनेर प्रश्न राख्नुभयो ।
मानवअधिकार सञ्जाल, काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा मानव अधिकारको अवस्थाका विषयमा जानकारी दिँदै व्यक्तिगत हत्या, बलात्कार लगायतका यौनजन्य हिंसा, सम्वन्ध विच्छेदका घटनाको संख्या धेरै भएको बताउनुभयो ।
कार्यक्रममा आर्दश विद्या मन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, पत्रकार प्रल्हाद शर्मा हुमागाई, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्मा, नेपाल मानवअधिकार संगठनका राजु सिग्देल, रेडक्रसका गोकुल बानियाँ, सामाजिक कार्यकर्ता कमल बन्जारा र रामकृष्ण आचार्य, माइती नेपालकी गायत्री गौतम लगायतले मानवअधिकारको अवस्थाका विषयमा आ–आफ्नो भनाई राख्नु भएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






