नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
प्यूठान । २०७८ असार ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाहरूको सारोकारवालाहरूबिच अर्धवार्षिक पूर्व समीक्षा असार २९ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा अभिलेख गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा हत्या एक, बालिका बलात्कार, यौन दुर्व्यवहारका दुई ओटा, महिला बलात्कारका दुई वटा र घरेलु हिंसाका आठ ओटा गरी १३ वटा घटनाहरू रहेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद गैरेले इन्सेकले अभिलेख गर्ने घटनाहरूले जिल्लाको मानव अधिकारको अवस्था चित्रण गरेको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा महत्वपुर्ण दस्तावेज भएको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग सङ्घका जिल्ला अध्यक्ष जुमानसिह केसीले जिल्लामा घटेका मानव अधिकारका घटनाहरूको बारेमा पीडित तथा पीडकको अवस्था, न्याय प्राप्तीमा राज्यको भूमिकाका बारेमासमेत समीक्षा गरिने भएकाले इन्सेकले गर्ने कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । मानव अधिकार रक्षक सञ्जालका संयोजक पार्वता आचार्यले कोभिड –१९ को सङ्क्रमणमा घटनाहरूको अभिलेख गर्ने कार्य कठिन भएको बताउदै अभिलेख गर्ने कार्यलाई इन्सेकले निरन्तरता दिनुपर्ने बताउनु भयो ।
रविन्द्र पाण्डे
HUMAN RIGHTS NEWS PORTAL






