प्रकाश मानव अधिकार पुरस्कार—२०७७ सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई
कैलाली । २०७८ साउन १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार—२०७७ कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले आयोजना गरेको २९ औं स्मृति दिवसका अवसरमा चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र, नगदसहित इन्सेक चिन्ह् प्रदान गरी सम्मान गरेको हो ।

सो अवसरका बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तन र सामाजिक न्यायका लागि क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेर इन्सेकले सराहनिय कार्य गर्दै आएको बताउँदै संविधानमा उल्लेखित मौलिक हक र प्रदेशको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न बौद्धिक व्यक्तित्व तथा नागरिक समाजको सहयोग महत्वपुर्ण रहने बताउनु भयो । उहाँले भन्नु भयो— ‘समुदायमा व्याप्त कुरुती र विसङगती हटाउन इन्सेकले सचेतनामूलक कार्य गरी जिम्मेवार निकायलाई जवाफदेही बनाइने प्रयास गरिरहेको छ । प्रदेश सरकार पनि मानव अधिकारको प्रत्याभूति दिलाउन प्रयत्नरत रहेको छ । यसका लागि सबैको साँझा प्रयास र सहयोगको अपिक्षा गर्दछु । ’

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सामाजिक न्यायका लागि विभिन्न अभियानमा योगदान पुर्याएका तर राज्यले चिन्न नसेका व्यक्तित्वहरुलाई इन्सेकले सम्मान गरेर मानव अधिकार तथा सामाजिक अभियान्ताहरुलाई उत्प्रेरणा प्रदान गरी सामाजिक सदभाव, न्यायमैत्री समाज र दिगो शान्ति पुर्नस्थापनामा सहयोग गरेको बताउनु भयो ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले विगतमा कमैया मुक्ती, कम्लहरी, दलित, महिला तथा विभिन्न वर्गको उथ्थानका लाग विगतमा आन्दोलनहरु भएका भएपनि ती आन्दोलनबाट अधिकारको पूर्णता नभएको बताउँदै नागरिक अधिकार सुनिश्चित गर्न सामाजिक अभियान्ताहरुले अझै वकालत तथा अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले स्वार्गीय प्रकाश काफ्लेलाई स्मरण गर्दै इन्सेकको स्थापना, प्राची प्रकाशन, राष्ट्रिय मानव अधिकार आयोगको स्थापना र मुलुकमा भएको विभिन्न सामाजिक आन्दोलनमा इन्सेकको भुमिका महत्वपुर्ण रहेको बताउँदै आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न राजनीतिक नेतृत्व र सामाजिक अभियान्ताहरुको योगदानलाई संस्थागत गर्न आवश्यक रहेको बताउनु भयो । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको रक्षा र बिकास, मानव अधिकरको सचेतीकरण तथा जागरणमा महत्वपुर्ण योगदान गर्नु भएको बताउँदै मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई स्वर्गीय प्रकाश काफ्लेको सम्झनामा प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानीत गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘मानव अधिकार र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका २६ जना अभियान्ताहरुलाई यसअधि सम्मान तथा पुरस्कृत गरिसकिएको छ । यस वर्ष प्रकाश मानव अधिकार पुरस्कार कैलालीका मानव अधिकार अभियान्ता चौधरीलाई प्रदान गरेका छौँ ।’ इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारले कैलाली जिल्ला जानकी गाउँपालिका—२ खर्गोलीका फिरुलाल चौधरीले लामो समयदेखि कमैया आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याएको, इन्सेकले सञ्चालन गरेको कमैया सर्वेक्षणमा महत्वपुर्ण सहयोग तथा योगदान गर्नु भएको र सशस्त्र द्वन्द्वका समयमा सर्वसाधारणको जिवन रक्षाका लागि क्रियाशिल भएर मानव अधिकार संरक्षण र संम्बर्धनमा खेलेको भुमिकालाई विश्लेषण गरी इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मान गर्ने निर्णय गरी छनौट गरेको बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले लामो समयदेखि नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कुतिक अधिकार र सामाजिक न्यायका पक्षमा आफ्ना गतिविधिहरु केन्द्रित गर्दै मानव अधिकारको संरक्षण र सम्बर्धनमा सहयोग गर्दै आएको बताउँदै मुलक भरी भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाहरुको दस्तावेजीकरण गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।

मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






