प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको क्षमता अभिवृद्धि तालिम सुरु

मोरङ । २०८२ पुस १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशको आयोजनामा विराटनगरमा दुई दिने मानव अधिकार रक्षक सञ्जालको लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका गैर सरकारी संस्था प्रतिनिधि, नागरिक समाज, मिडियाकर्मी तथा सामाजिक न्यायका क्षेत्रमा कार्यरत अल्पसंख्यक, सिमान्तकृत समुदायका व्यक्तिहरुको समेत प्रतिनिधित्व समेत रहेको छ ।

दुई दिने आवासीय तालिमको उद्घाटन सत्रमा तालिमको उद्देश्य तथा सहभागीहरुलाई स्वागत गर्दै कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल देवीप्रसाद बाँस्कोटाले यस तालिमबाट सहभागीहरुमा मानव अधिकारमा आधारित दृष्टिकोणको ज्ञान र व्यवहारिक प्रयोगमा सक्षम बनाउने, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार, मानव अधिकार रक्षक सम्बन्धी अवधारणा बुझाउने र यसको प्रवद्र्धन गर्न व्यवहारिक क्षमता विकास गर्ने, मानव अधिकारका मुद्दाहरू पहिचान गर्न, सरोकारवाला निकायहरू पहिचान र कार्ययोजना निर्माण गर्ने क्षमता विकास गर्ने, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, व्यवसाय र मानव अधिकार, वातावरणीय अधिकार, लैङ्गिक हिंसा र जातीय विभेद सम्बन्धी ज्ञानको अभिवृद्धि गर्नेलगायतका महत्वपूर्ण उपलब्धीमूलक अपेक्षा राखिएको बताउनु भयो ।

      

यसैगरी कार्यक्रम उद्घाटन सत्रमा मन्तव्य राख्नुहुँदै राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख वीरबहादुर बुढामगरले समकालीन समयमा मानव अधिकार रक्षकहरुको महत्वूर्ण भूमिकाबाट मानव अधिकार उल्लंघन र ज्यादतीका घटना न्यूनीकरण हुने, राज्य र सरोकारावाला निकायहरुलाई खबरदारी गर्नका लागि जिम्मेवार बनाउने तथा व्यवसाय र मानव अधिकार, वातावरणीय अधिकारजस्ता नयाँ सवालहरुमा समेत पैरवी गर्नका लागि रक्षकहरुको भूमिका अतुनलीयन रहेको बताउनु भयो ।

कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल कोशी प्रदेशकी अध्यक्ष मञ्जीता उपाध्यायले मानवअधिकारको संरक्षणका लागि मानवअधिकार रक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले मानवअधिकार रक्षकहरुलाई वेला वेलामा पुनर्ताजकी र क्षमता अभिवद्धि तालिम पनि आवश्यक रहेको बताउनुभयो । उपाध्यायले इन्सेकले आयोजना गरेको तालिमले मानवअ धिकार रक्षकहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिमले सहभागिहरुको क्षमता अभिवृद्धिका लागि सहयोगी हुने बताउनु भयो । उहाँले अन्य संघ संस्थाहरुले विशेष क्षेत्रमा मात्रै काम गर्ने गरेको भए पनि इन्सेकले मानव अधिकारका सबै क्षेत्रमा काम गरिरहेको बताउनु भयो । उहाँले इन्सेकको देशका ७७ वटै जिल्लामा सञ्जाल रहेको र देशैभर काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका मानवअधिकार रक्षकहरुको सहभागिता रहेको छ ।

दुई दिने तालिममा कोशी प्रदेश मानव अधिकार रक्षक सञ्जालका संयोजक देवीप्रसाद बाँस्कोटा, अधिवक्ता कला त्रिताल, इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा फा्ेकल पर्सन कृष्णप्रसाद नेपाल, मनमोहन प्राविधिक विद्यालयका प्रिन्सीपल कोषराज न्यौपाने र इन्सेक कोशी प्रदेश कार्यालयका अधिकृत पुण्य अधिकारीले सहजीकरण गर्ने कार्यतालिका रहेको छ ।

तालिमको पहिलो दिन मानव अधिकार रक्षकसम्बन्धी विषयको अवधारणा, मानव अधिकार उल्लंघन र ज्यादतीलगायत घटनाको अभिलेखीकरण प्रक्रिया, मानव अधिकार सम्वर्धन र प्रवर्धनमा रक्षकहरुको भूमिका र नेपालमा जातीय तथा लैगिंक विभेदका विभिन्न समस्याहरु तथा कानुनी प्रणाली बारेमा सहजीकरण गरिने इन्सेक कोशी प्रदेश संयोजक पोख्रेलले बताउनु भयो ।

 

विनाेद सुवेदी