प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाँके । २०८१ चैत २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा ०८१ चैत २१ गते एक दिने प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी विश्वकर्माले विश्वव्यापी रूपमा जलवायु समस्या बढ्दै गएको र यो समस्या मानव अधिकारसँग जोडिएकाले वातावरणीय अधिकारका विषयमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनले कृषि उत्पादन, व्यवसायमा पारेको प्रभावबारे सङ्गठित भइ आवाज उठाउन र अभिलेखन जरुरी रहेको भन्दै त्यसमा इन्सेकले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउन अधिकारलाई गम्भीर रूपमा लिन सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

       

सो अवसरमा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले समय सान्दर्भिक मानव अधिकारका लागि पैरवी गर्दै आएको स्मरण गराउनुभयो । नागरिक, राजनीतिक अधिकारका लागि विगतमा इन्सेकले खेलेको भूमिका स्मरण गराउँदै उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसँगै अब वातावरणीय अधिकारका लागि पैरवी गर्ने बताउनु भयो ।

उहाँले हावा, पानी, ध्वनी प्रदुषण सुधारका लागि सार्वजनिक महत्त्वका विषयमा सिमेन्ट कारखाना, उखु मिलका प्रदुषणविरुद्ध पिआइएल लिएर अदालत पुग्ने काम गरेको बताउनु भयो । संयोजक महतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३० जना वातावरण अधिकारकर्मीको सहभागिता थियो । सो अवसरमा डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी विश्वकर्मा, अधिवक्ता बसन्त गौतम र मानव अधिकारकर्मी प्रकाश उपाध्यायले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक नेपालगञ्जका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले गर्नुभएकफ थियो ।

  ध्रुबराज शर्मा