मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल सचिवालयको बैठक २०८२ चैत २५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको बैठक कक्षमा बसेको उक्त बैठकमा सञ्जाल सचिवालय अध्यक्ष राजकुमार महासेठले मानव अधिकार रक्षक सञ्जाललाई सशक्त र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो। मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी ऐन, २०८० को मस्यौदा ऐन बनाउनका लागि प्रदेश सरकार, प्रदेश प्रमुख र सभामुखसँग समन्वय गरी कार्यान्वयन गर्ने तर्फ ध्यानाकर्षण अपरिहार्य रहेको भन्नु भयो ।

प्रदेश संयोजक राजु पासवानले यस प्रदेशका आठवटा जिल्लामा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानवअधिकार रक्षकहरुको संरक्षणको सवालको प्रदेश सरकार, प्रदेश प्रमुख तथा सरोकारवालालाई सो सम्बन्धमा संवैधानिक तवरमै ऐन निर्माणको सन्दर्भमा जवावदेही बनाउन सबैले पहल गर्नु पर्ने बताउनुभयो। रक्षकहरुको सुरक्षा र संरक्षण मस्यौदाको नमुना प्रस्तुत गर्नु हुन्दै प्रदेश सरकारको निति तथा कार्यक्रम २०८३÷८४ को योजनामा यस मस्यौदालाई सम्बोधन गराउनका निम्ति सम्पूर्ण मानवअधिकारकर्मीले सशक्त रुपमा अग्रसर हुन आग्रह गर्नु भयो ।
त्यसैगरी सञ्जालका सदस्य सचिव ममता विश्वकर्माले मधेश प्रदेशमा २६ जना मानव अधिकार रक्षकहरुले संरक्षण र सुरक्षा चुनौतीको सामना गर्नु परेको भन्दै आठओटै जिल्लाहरूमा कायम रहेका जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाललाई प्रभावकारी बनाउनका लागि पुनर्गठन तथा नयाँ गठन गर्ने तथा हाल सक्रिय नरहेका जिल्लाहरूमा पुनर्गठन गर्ने योजना बनाउन जरुरी रहेको बताउनु भयो । बैठकमा दुर्गा परियार, नगवा अब्दुल अहमद, गौरी न्यौपाने, अर्जुन साह,अमित मिश्र, बलराम शाह, धीरज साह र सन्तोषकुमार यादव लगायतको उपस्थिति रहेको थियो।
HUMAN RIGHTS NEWS PORTAL






