



मोरङ । २०८२ भदौ १४ गते
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा ०८२ भदौ १४ गते ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ ।
इन्सेक कोशी प्रदेश र मानवअधिकारका लागि एक महिला समूहको आयोजनामा बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागिहरूले सरकारले सेना समायोजनलगायतका शान्तिप्रक्रियाका कामहरू सम्पन्न गरे पनि वेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नगरेको गुनासो गरे ।
उनीहरूले वेपत्ता व्यक्तिहरूको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । कार्यक्रममा सहभागी वेपत्ता परिवारका सदस्यहरूले राज्यले लामो समयसम्म पनि वेपत्ताको अवस्था सार्वजनिक नगर्दा पीडितहरू थप पीडित बन्नु परेको गुनासो गरे । वेपत्ता परिवारका सदस्य तुलसा राईले सरकारले लामो समयसम्म वेपत्ताहरूको अवस्था सार्वजनिक नगरेको गुनासो गर्नुभयो । उहाँले वेपत्ताको अवस्था सार्वजनिक नभएका कारण आफूहरूले काजक्रियासमेत गर्न नपाएको बताउनुभयो । आफन्तहरू मरेकी जीवित छन् भन्ने राज्यले जानकारी दिनुपर्ने उहाँको माग छ । कार्यक्रममा शहिद परिवारकी सदस्य मन्जु विश्वासले धेरै वटा आयोग वनेपनि आयोगहरूले काम गर्न नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय गठन भएको आयोगका विषयमा पनि प्रश्न उठिरहेको धारणा राख्नुभयो । उहाँले नयाँ गठन भएको आयोगमा द्वन्द्व पीडितको प्रतिनिधित्व नभएको गुनासो आइरहेकाले आयोग विरुद्ध नै पीडित पक्षले विद्रोह थालेको बताउनुभयो । उहाँले भन्नुभयो‘सरकारले पछिल्लो पटक गठन गरेको आयोगमा द्वन्द्वपीडितहरूको माग अनुसार प्रतिनिधित्व नभएको आयोग विरुद्ध नै विद्रोह समेत सुरु भएको भन्ने कुरा आइरहेको छ ।’
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा पालुंगाले नयाँ आयोग गठन भएपछि संक्रमणकालीन न्याय टुंगोमा पुग्ने र पीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पीडित पक्षको न्यायका लागि आयोगले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । पालुङ्गाले भन्नुभयो‘ आयोगलाई निश्पक्ष रुपमा काम गर्न दिए पीडित पक्षले न्याय पाउनेमा आशा गर्न सकिन्छ ।’
कार्यक्रममा मानवअधिकारकर्मी देवी बाँस्कोटाले आयोग बन्नुमात्रै ठूलो कुरा नभई सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले निश्पक्ष रुपमा प्रभावकारी काम गरेको छ की छैन भन्ने महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहाँले आयोगको कामलाई प्रभावकारी बनाउन खबरदारी आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो‘ आयोगकको कामलाई प्रभावकारी बनाउन खवरदारी आबश्यक छ ।’
सिविन नेपाल विराटनगरका प्रमुख एवम् मानव अधिकार सञ्जाल, विराटनगरका अध्यक्ष बासुदेव अधिकारीले द्वन्द्व पीडितहरूका कुरा सुन्दा पहुँचका हिसावले राज्यले राहात, क्षतिपूर्ति दिएको हो की जस्तो पनि देखिएको बताउनुभयो । उहाँले राज्यले वेपत्ताको अवस्था सार्वजनिक गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरका मानवअधिकार अधिकृत यमराज आङ्दाम्वेले आयोगले सिफारिस गरे पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष २०८१/०८२मा कोशी प्रदेश कार्यालयले वेपत्ताको ३२ वटा फाइल हेरेको र १८ वटा घटनाको अनुसन्धान गरेर सरकारलाई सिफारिससमेत गरेको जानकारी दिनुभयो । तर, सरकारले मानवअिधकार कायोगको सिफारिस कार्यान्वयन नगर्दा परेका उजुरीमा अनुसन्धान गर्नकी नगर्ने भन्ने अन्यौल भएको बताउनुभयो । बलपूर्वक वेपत्ता पार्ने काम अन्तराष्ट्रिय अपराध भएको मानव अधिकृत आङ्दाम्वेले बताउनु भयो ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सबै पक्षको रचनात्मक भूमिका आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले सेना समायोजन जस्तो जटिक कार्य सम्पन्न भएको, संविधानसभा निर्वाचनबाट संविधान जारी भएर मुलुक संघीय संरचनामा गएकोले समेत राज्यप्रति विश्वास राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्य अधिकारीले कोशी प्रदेशमा शसस्त्र द्वन्द्वमा ७७ जना वेपत्ता भएको इन्सेकको अभिलेखमा रहेको बताउनुभयो । उहाँले देशभर ९ सय ३१ जना वेपत्ता भएको जानकारी दिनुभयो ।
वेपत्ता दिवसमा दीप प्रज्वलन
बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरको महेन्द्र चोकमा ०८२ भदौ १४ गते दीप प्रज्वलन गरिएको छ ।
इन्सेक, मानवअधिकारका लागि एकल महिला समूहलगायत विभिन्न मानवअधिकारवादी तथा सामाजिक संघ संस्थाहरूले भदौ १४ गते संयुक्त रुपमा महेन्द्र चोकमा दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूले मैनवत्ती बालेर दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा मानवअधिकारवादी संघ संस्थासँगै वेपत्ता परिवार तथा द्वन्द्वपीडित परिवारका सदस्यहरू पनि सहभागी थिए ।
विनोद सुवेदी