बालकको उपचारका लागि इन्सेकद्वारा आर्थिक सहयोग

गण्डकी प्रदेश । २०८३ साउन २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराले गोरखाको सहिद लखन गाउँपालिका–७ बुंकोट हाल सहिद लखन–६ का दुई वर्षीय बालकको उपचार लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

अस्पतालको लापरवाहीका कारण जन्मँदै स्वास्थ्यमा गम्भीर जटिलता (मस्तिष्कमा दबाब) उत्पन्न भई शारीरिक अशक्तता झेलिरहेका बालक केयांश गुरुङको उपचारका लागि ०८३ साउन १९ गते इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले ५ हजार रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

गोरखा अस्पतालमा २०७९ चैत १२ गते जन्मिने क्रममा ढिलाइ हुँदा बालकको मस्तिष्कमा गम्भीर असर पुगेको थियो । चितवन मेडिकल कलेज र काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार गराउँदा समेत पूर्ण सुधार नभएपछि चिकित्सकहरूले बालकलाई लामो समयसम्म थेरापी गराउनुपर्ने सुझाव दिएका छन् । तर, परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले लामो समयसम्म काठमाडौँ बसेर उपचार गराउन कठिनाइ भइरहेको थियो ।

बालकको उपचारमा सहयोग पु¥याउन सहिद लखन गाउँपालिका–७ का अध्यक्ष शरण श्रेष्ठले ०८३ साउन १५ गते हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्र, पोखरालाई आवश्यक सहयोगका लागि पत्राचार गर्नुभएको थियो र साथै पीडित राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयसँग सहयोगका लागि सम्पर्कमा आएको हुँदा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख नीतु गर्तौलाले साउन २० गते इन्सेक गण्डकी प्रदेश कार्यालयलाई पत्र लेख्दै बालकको उपचारका लागि आवश्यक सहयोग गर्न औपचारिक अनुरोध गर्नुभएको थियो । आयोगको उक्त पत्राचार र मानवीय आवश्यकतालाई ध्यानमा राख्दै इन्सेकले पीडित परिवारलाई तत्काल राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गण्डकी प्रदेश कार्यालय