बालसुधार गृहका किशोरहरुलाई मनोसामाजिक सचेतना

मकवानपुर । २०८३ भदौ २४ गते

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बालसुधार गृहमा रहेका किशोरहरूका लागि मनोसामाजिक सचेतना तथा आत्महेरचाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेश र सुनौलो शिक्षा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बालसुधार गृहमा रहेका ७२ जना बालकलाई मनोसामाजिक स्वास्थ्य, आत्महेरचाह र सकारात्मक सोचका विषयमा सचेतना प्रदान गरिएको हो ।

   

कार्यक्रममा सुनौलो शिक्षा नेपालका अध्यक्ष तथा मनोसामाजिक परामर्शकर्ता आशिष दुलालले आफ्नो हेरचाह, आत्महेरचाह, प्रेरणादायी सोच तथा मनोसामाजिक सचेतना लगायतका विषयमा प्रशिक्षण तथा परामर्श दिनुभएको थियो । सहभागी किशोरहरूलाई तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा दैनिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे समेत जानकारी गराइएको थियो। बालसुधार गृहका प्रमुख प्रदीप गौतमले सुधार गृहमा रहेका बालकहरूका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले किशोरहरूको मानसिक तथा भावनात्मक विकासमा मनोसामाजिक सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । सुधार गृहमा रहेका किशोरहरूलाई अनुशासनसँगै मानसिक स्वास्थ्य, आत्मविश्वास र सकारात्मक जीवनदृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

मञ्जिता मैनाली