बाल अधिकारको संरक्षण लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्साः अध्यक्ष गौतम

काठमाडौ । २०८२ माघ १७ गते

इन्सेक बागमती प्रदेश कार्यालय र बालबालिका शान्ती क्षेत्र अभियान (सिजप)को संयुक्त आयोजनामा आगामी प्रतिनिधि सभा निर्वाचनमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरूको भूमिका विषयक छलफल तथा सिजप बागमती प्रदेशको भेला ०८२ माघ १६ गते इन्सेक केन्द्रीय कार्यालय, काठमाडौँमा सम्पन्न भएको छ ।

इन्सेक तथा फोरम एशियाका अध्यक्ष विजयराज गौतमले बाल अधिकारको संरक्षण लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्सा भएको उल्लेख गर्दै बालमैत्री निर्वाचनको वातावरण निर्माण गर्न राज्य, राजनीतिक दल, नागरिक समाज र प्रत्येक नेपाली नागरिक समान रुपले जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले श्रीलंकामा पछिल्ला वर्षहरुमा भएको विकासको उदाहरण दिँदै नेपालको सर्वोत्तम हितका लागि बालबालिका र उनीहरुको विशेष र विशिष्टीकृत अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनु भयो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतिकरण मार्फत निर्वाचनमा बालबालिकाको प्रयोगका प्रमाण तथा तथ्याङ्कहरू सार्वजनिक गर्दै आसन्न निर्वाचनका लागि निर्धारण गरिएका १० हजार ७ सय ५४ मतदान केन्द्रमध्ये ९ हजार ४ सय ३३ वटा विद्यालयमा र ९५ वटा स्वास्थ्य संस्थामा मतदान केन्द्र राखिनु दुःखद रहेको बताउनु भयो । उहाँले विद्यालय तथा बालबालिकालाई शान्ति क्षेत्रका रूपमा संरक्षण गर्न आवश्यक हस्तक्षेपको खाँचो औँल्याउनु भयो ।

मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदीले निर्वाचन प्रक्रिया बाल अधिकारमैत्री हुन नसके लोकतन्त्र नै कमजोर बन्ने चेतावनी दिनुभयो । उहाँले बालबालिकाले राजनीतिक सिद्धान्त, विचार र प्रकृयाबारे विषय जान्न आवश्यक रहेकोले शैक्षिक पाठ्यक्रमहरुमा लोकतान्त्रिक प्रकया र विर्नाचनको विषयलाई महत्वका साथ राख्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक तथा सिजपका केन्द्रीय सदस्य शिव प्रसाद खकुरेलले विगतका निर्वाचनहरुमा राजनीतिक दलहरु र उम्मेदवारहरुले गरेका आचारसंहिताहरुको इन्सेकले अभिलेखीकरण गर्ने क्रममा व्यापक बाल अधिकार उल्लङ्घनका घटनाहरु भएकोमा जानकारी गराउदै आगामी निर्वाचनहरुमा यस्ता विषयहरु दोहोरिन नदिन राजनीतिक दल, उम्मेदवार, शिक्षक र अभिभावकहरुलाई सचेत बनाउन आवश्यक रहेको बताउनु भयो ।

गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष राम भट्टराईले निर्वाचन प्रक्रियामा बालबालिकाको दुरुपयोग हुने विभिन्न तरिकाप्रति अझ सचेत रहन र टिकटकजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमा बालबालिकालाई प्रयोग गरेर बनाइने दल तथा उम्मेदवार सम्बन्धी प्रचार सामग्रीमाथि निगरानी र नियमन गर्न सम्बन्धित निकायमा आग्रह गर्ने प्रस्ताव राख्नु भयो ।

सेतो गुराँसकी कार्यकारी निर्देशक सशी बि.सीले विगतमा निर्वाचनका क्रममा बालबालिकाको प्रयोग अत्यधिक हुने गरेको स्मरण गराउँदै नागरिक समाज संस्थाहरूको संयुक्त पहलले त्यस्ता घटनामा कमी ल्याएको बताउनु भयो । उनले राजनीतिक र्‍याली तथा अभियान जस्ता द्वन्द्व सम्भावित वातावरणमा बालबालिका सहभागी हुँदा त्यसले उनीहरूको शारीरिक मात्र नभई मानसिक विकासमा समेत नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो ।

चंगा फाउन्डेसनका अध्यक्ष पवित्रा भट्टराईले मानव अधिकारकर्मीहरुले सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । नेपाल गुड वेव फाउन्डेसनका सदस्य सिर्जना जिसीले बालअधिकार जस्तो संवेदनशील विषयको प्रचार प्रसारका लागि सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व (इन्फ्लुएन्सर) हरूलाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

नवयुवा पुस्ताका अगुवा पवन गौतमले बालबालिकाको प्रयोगलाई निर्वाचन पूर्व, निर्वाचन अवधिमा र निर्वाचनपछि गरी तीन चरणमा विश्लेषण गर्नुपर्ने धारणा राख्दैबालबालिकालाई निर्वाचनसँग सम्बन्धित प्रचार, ¥याली, नाराबाजी तथा सामाजिक सञ्जाल सामग्रीको उत्पादनमा प्रयोग गरिदै आएको विषयमा आपत्ती जनाउनु भयो ।

कार्यक्रममा सिजप सँग आबद्ध विभिन्न साझेदार तथा सदस्य नागरिक समाज संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो । निर्वाचन अभियानमा बालबालिकाको विभिन्न रूपमा प्रयोग गर्ने प्रवृत्ति अझै विद्यमान रहेको विषय छलफलको मुख्य केन्द्रबिन्दु रहेको थियो ।

कार्यक्रममा सिजप र इन्सेक बीच बालअधिकारको संरक्षण र संवद्र्धनका लागि समन्वय र सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गरिएको थियो । समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षहरूले हस्ताक्षर गनूभएको हो ।

यसैबिच सिजपको बागमती प्रदेश समिति रिना विश्वकर्माको अध्यक्षमा, सचिव सम्झना अधिकारी र सदस्यहरुमा निरज साउद, सोभा आचार्य, पवित्रा भट्टराई, विष्णु न्यौपाने र संगिता कार्की निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा सिजपका महासचिव राजु घिमिरेले निर्वाचनका क्रममा हुन सक्ने बालबालिकाहरुको जोखिमलाई कम गर्नका लागि आ–आफ्नो स्थानबाट पहल गर्न सदस्य संस्थाका प्रतिनिधि र सहभागीहरुलाई अनुरोध गर्दे इन्सेक र सिजपले संयुक्त रुपमा बालबालिकाहरुको सुरक्षा चुनौती र जोखिमा केन्द्रित रहेर अनुगमन र पर्यवेक्षण गर्ने बताउनु भयो ।

आयोजक संस्थाहरूले आगामी निर्वाचनलाई बालमैत्री, अधिकार सम्मत र शान्तिपूर्ण बनाउन सबै सरोकारवालाहरूले साझा पहल गर्नुपर्नेमा जोड दिएका छन्।

अनमोल पन्त