मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल पुर्नगठन

धनुषा । २०८२ मङ्सिर १४ गते

मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको पुर्नगठन गरिएको छ । मानव अधिकार संरक्षणका क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको पुर्नगठन गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मङ्सिर १३ गते लालगढमा आयोजित सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रममा अधिवक्ता राजकुमार महासेठको संयोजकत्वमा २९ सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा प्रदेश स्तरीय मानव अधिकार समूहकी अध्यक्ष देवीमाया भट्टराई, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, एम्नेष्टि इन्टरनेशनलकी जमुना भुजेल, टिपिओ नेपालकी बिना कडारी, ग्रिन स्पेश नेपालका अध्यक्ष धिरज साह, कायापलटका कोषाध्यक्ष बलराम साह, माइती नेपालका पुरुषोतम यादव, निल हिरा समाजका अबदुर सदमद (नगमा), जवास नेपालकी अध्यक्ष मन्दा कुमारी कर्ण, मिथिला बाल नगर सञ्जालका अध्यक्ष तथा बाल अधिकार सचेतना समूह मधेस प्रदेशका अध्यक्ष आनन्द कुमार महतो, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह, युवानका अध्यक्ष कयुम राइन रहेका छन् ।

  

त्यसैगरी रौतहट जिल्ला गुजरा नगर युवा क्लव, रौतहटका अध्यक्ष अब्दुल सलाम, हरवा चरवा मञ्चका उपाध्यक्ष श्रीप्रसाद सदा, उज्यालो नेपाल समाजका अध्यक्ष अमितकुमार मिश्र, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य देवराज पोखरेल, मानव अधिकार समूहका प्रदेश उपाध्यक्ष हरिनारायण दास, सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिकाका नगरस्तरीय मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, मानव अधिकार एलायन्सका मधेस प्रदेश अध्यक्ष अनिल तिवारी, राजधानी दैनिका मधेस प्रदेश व्युरो इन्चार्ज तथा इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारी, दिव्य विकास श्रोत केन्द्र वीरगञ्जका गणेश ठकुरी, सञ्चारकर्मी रञ्जन भण्डारी, मानव अधिकारकर्मी अजय परियार, इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, सर्लाही प्रतिनिधि वुधन साह, रौतहट प्रतिनिधि गौरी न्यौपाने सदस्य रहेका छन् ।

इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानका अनुसार आठ ओटै जिल्लाबाट मानव अधिकार क्षेत्रमै सक्रिय कम्तिमा दुई–दुई जना सहभागी हुने गरी २९ सदस्यीय कार्य समिति बनाइएको हो । साथै सोही कार्य समितिबाट ११ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ । सचिवालय समितिको संयोजकमा अधिवक्ता राजकुमार महासेठ, सदस्य सचिवमा इन्सेक मधेस प्रदेशबाट ममता विश्वकर्मा, सदस्यहरुमा दुर्गा परियार, अजय परियार, अर्जुन साह, अबदुल सहमद, गौरी न्यौपाने, गणेश ठकुरी, अमित मिश्र, अनिल तिवारी र जमुना भुजेल रहेका छन् ।

त्यसैगरी, चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख बुद्धनारायण सहनी, अधिवक्ता सुनिल साह, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र मिडिया काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष कैलास दास रहेका छन् ।

अभिमुखीकरण समापन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनीले मानव अधिकारकर्मीहरूको भूमिका नागरिकको हक–अधिकार सुदृढ गर्न, न्यायमा पहुँच सहज बनाउन र बहिष्कृत समुदायको आवाज बुलन्द बनाउन अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ । उहाँले मानव अधिकार रक्षक सञ्जालले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझेरी काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

अधिवक्ता सुनिल साहले प्रदेशमा सञ्जाल गठन गरेजस्तै आठ ओटै जिल्लामा मानव अधिकार रक्षक सञ्जाल गठन गरेर मानव अधिकारकर्मीलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गराउन इन्सेकलाई आग्रह गर्नु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको सन्दर्भलाई चर्चा गर्दै प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गरेर लैङ्गिक हिंसाका घटना दिन प्रतिदिन भइरहेकोले यस विरुद्धको अभियानलाई मानव अधिकारकर्मीहरुले प्रभावकारी रुपमा लैजानु पर्नेमा उहाँले जोड दिनु भयो ।

मिडिया काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष कैलास दासले मानव अधिकार रक्षकहरुको सुरक्षा चुनौति जटिल रहेकोले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि इन्सेकले अगाडि बढाएको विधेयक प्रदेश सरकारले अपनत्व गरेपनि पारित नभएकोले पारित गराउने कार्यमा यस सञ्जालले भूमिका खेल्नु सुझाव दिनु भयो ।

मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो रहेको तथ्य तथ्याङ्कले देखाइरहेकोले मानव अधिकारको संरक्षण र त्यसको सवालमा पहल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल २०७८ पुस १३ गते जनकपुरधाममा आयोजित मानव अधिकारकर्मीहरुको एक भेलबाट गठन गरिएको थियो । उक्त समिति १७ सदस्यीय रहेको थियो ।       

मधेस प्रदेश कार्यालय