महिला अधिकार सचेतना कार्यक्रम सम्पन्न
कास्की । २०८२ जेठ २ गते
पोखरा महानगरपालिका वडा नम्बर १५ कोलपाटनमा बिहीबार मानव अधिकार र महिला अधिकारसम्बन्धी एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश, पोखराद्वारा आयोजित उक्त कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव अधिकार र महिला मानव अधिकारका विषयमा सहजीकरण गर्नुभयो। रक्षक सञ्जाल कास्कीका पूर्व अध्यक्ष सवनम शर्माले महिला अधिकारका पक्षमा जानकारी दिनुभयो भने जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख सरला ढकालले लैंगिक हिंसा न्यूनीकरण र अनलाइन दुर्व्यवहारबाट जोगिने उपायहरूबारे जानकारी दिनुभयो।

पोखरा महानगरपािलका- १५ का वडाध्यक्ष तोरण बानियाँले भौतिक पूर्वाधार विकासको साथसाथै मानवीय विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “पूर्वाधार विकास मात्र पर्याप्त हुँदैन,” उहाँले भन्नुभयो, “मानवीय विकास बिना सन्तुलित विकास सम्भव हुँदैन।” उहाँले नागरिक सशक्तीकरण र अधिकार सुनिश्चितता विकासको प्रमुख आधार हुने बताउनुभयो।
वडाध्यक्ष बानियाँले लैंगिक हिंसा, मानव बेचबिखन र साइबर अपराधबाट महिलालाई जोगाउन नसकेमा विकासको अर्थ नरहने स्पष्ट पार्नुभयो। उहाँका अनुसार वडा कार्यालयले महिलाको नेतृत्व विकास र सीप अभिवृद्धिका क्षेत्रमा पनि काम गरिरहेको छ।
कोलपाटन आमा समूहकी अध्यक्ष सावित्रा पौडेलले वडाका महिलाहरूको क्षमता विकासमा कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिनुभयो।
सञ्जय रानाभाट
HUMAN RIGHTS NEWS PORTAL






