वर्तमान सन्दर्भमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्यपरक अभिलेखीकरणमा इन्सेकको भूमिका झनै महत्वपूर्ण बन्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले बताउनु भएको छ ।
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा पुस ७ गतेदेखि पोखरामा सुरु भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को वार्षिक सम्पादन भेलालाई सम्बोधन गर्दै अध्यक्ष गौतमले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वसनीय तथ्य संकलन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गौतमले वर्ष पुस्तकलाई अझ तथ्यपरक र विश्वसनीय बनाउन घटनाहरुको निरन्तर अद्यावधिक कार्य आवश्यक रहेकोमा जोड दिनुभयो । सम्पादन भेला सूचना संकलन, तथ्यको परीक्षण र विश्वसनीयता सुनिश्चित गर्न उपयोगी हुने बताउनु भयो । आगामी फागुन २१ गते हुने प्रतिनिध सभाको निर्वाचनका क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्नको अनुगमन, अभिलेखीकरण तथा संरक्षणसम्बन्धी कार्यलाई अझ प्रभावकारी बनाउन अध्यक्ष गौतम जोड दिनु भयो ।

सम्पादन भेलामा इन्सेकका निर्देशक मदन पौडेलले भेलाबाट प्राप्त सुझाव, सूचना र तथ्यका आधारमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ लाई अन्तिम रूप दिइने जानकारी दिनुभयो ।
पुस ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने सम्पादन भेलामा इन्सेक केन्द्रीय कार्यालयका विभागीय प्रमुख, प्रदेश कार्यालयका संयोजक तथा प्रलेख अधिकृतहरूको सहभागिता रहेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






