मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न

सल्यान । २०८१ असोज २१ गते

इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाले सल्यान जिल्लाको मानव अधिकारको समग्र अवस्था र मानव अधिकार रक्षकले काम गर्दा भोग्नु परेको सुरक्षा र चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेका मानव अधिकार रक्षक र गम्भीर प्रकृतीका मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले इन्सेकले मानव अधिकार सहायता कक्ष सञ्चालन गर्दै आएको बताउनु भयो । यस्तो सहयोग आवश्यक पर्ने पीडितलाई यो सेवा लिनका लागि सहयोग गरिदिन संयोजक सुवेदीले आग्रह गर्नुभयो । नेपालको सङ्क्रमणकालीन न्यायका विषयमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन प्रमाणीकरण भएपछि द्वन्द्वपीडितमा केही आशा पलाएको बताउँदै संयोजक सुवेदीले ऐनमा भएका सकारात्मक पक्ष र द्वन्द्वपीडित, अधिकारकर्मी तथा नागरिक समाजबाट निगरानी गरिनुपर्ने विषयमा सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सल्यान जिल्लामा जातीय विभेद, परिवारजनबाट हत्या, हाडनाता करणी, महिला तथा बाल अधिकारसँग सम्बन्धित घटना बढी हुने गरेको मानव अधिकार रक्षक सञ्जालका संयोजक मुना हमालले जानकारी दिनुभयो । यसैगरी अधिकारकर्मी रामचन्द्र शर्माले जिल्लामा उपभोक्ताको अधिकारको अवस्था कमजोर भएको बताउँदै म्याद नाघेका औषधिको वितरण, मासु लगायत बजारमा पाइने खाद्य पदार्थ गुणस्तरीय नहुने बताउनु भयो ।

यसैगरी खङ्लगा बजार व्यवस्थापन समितिका अध्यक्ष शुकदेव विकले संविधानको अक्षरस कार्यान्वयन पार्टी नेतृत्वबाट सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो । अहिले पनि समुदायमा अन्तरजातीय विवाह हुन नसकेको, समुदायमा बालविवाह यथावत रहेको अध्यक्ष विकले बताउनु भयो ।

सामुदायिक रेडियो प्रसारण सङ्घ कर्णाली प्रदेशका अध्यक्ष प्रतीक इच्छुक शर्माले शिक्षा, स्वास्थ्य, रोजगारको अधिकारबाट नागरिक वञ्चित भएको बताउनु भयो । सेवा प्रदायक निकायबाट हुने सेवा प्रभावकारी हुन नसक्दा सेवाग्राहीले समस्या भोगीरहेको प्रदेश अध्यक्ष शर्माले गुनासो गर्नुभयो । कार्यक्रममा सञ्चारकर्मी र अधिकारकर्मीको सहभागिता रहेको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय