मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न

मकवानपुर । २०८१ पुस १६ गते

बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा पुस १६ गते उक्त बैठकको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालले अहिलेको अवस्थमा जतिपनि जघन्य अपराधहरु छन् ती सबै घटनामा प्राय जसो बालबालिकाकै संलग्नता रहेको बताउनु भएको छ ।

देशभर आठ ओटा बाल सुधार गृह रहेको जानकारी गराउँदै उहाँले सबै बाल सुधार गृहमा रहेका बालबालिकाहरु आफैँ पीडित रहेको पाइएको बताउनु भयो ।

जिल्ला बार एशोसियसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतले बाल अपराध बढ्नुको मुख्य कारण सम्बन्ध विच्छेद पनि रहेको औँल्याउनु भयो । उहाँले बाबु–आमा छुट्टिएर बस्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने बताउँदै अभिभावककै कारण पनि बालबालिका आपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।

बैठकमा नेपाल पत्रकार महासङ्घ बागमतीका अध्यक्ष कृष्ण सारु मगरले मानव अधिकार उल्लङ्घनका घटनामा बागमती प्रदेश उच्च रहेको इन्सेक प्रतिवेदनमा उल्लेख भएको बताउँदै यस्ता घटना न्यूनीकरणको लागि मिडिया सधैँ साथसाथ रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले राज्यले मानव अधिकारका विषय संविधानबाटै सुनिश्चित गरेपनि कार्यान्वयनमा भने कमजोर रहेको बताउनु भयो । नीति कार्यान्वयनको लागि सङ्घसंस्था र मीडियाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उहाँले सरोकारवालाको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिनु भयो ।

पुष्पराज अधिकारी