ललितपुर । २०८३ वैशाख १८ गते
मानव अधिकार संरक्षणका लागि अभियन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधिकार रक्षक सम्मेलन जावलाखेलमा सुरु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा ०८३ वैशाख १८ र १९ गते भइरहेको सम्मेलन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापाको प्रमुख आतिथ्यता र इन्सेकका अध्यक्ष विजयराज गौतमको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापाले मानव अधिकार हनन् र ज्यादतीका घटनाको तथ्याङ्क सङ्कलन हरेक पालिकाबाटै गर्नु पर्ने उल्लेख गर्दै ०८२ भदौ २३ र २४ गतेको घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रतिवेदन तयार गरेकोले १० हजार पृष्ठको प्रतिवेदन ६ सय पृष्ठकोे प्रतिवेदन सार्वजनिक नहुनुमा जवाफदेहिताका लागि ध्यानाकर्षण गर्नुभयो ।

आयोगबाटै प्रतिवेदनका अन्तरवस्तु नै लुकाएर छोटकरीरुपमा ल्याउन खोजेकाले युवाहरु तथा नागरिक समाजले खबरदारी गर्नु पर्ने उल्लेख गर्दै आयोगको सिफारिस सरकारले कार्यान्वयन नगरेको विषयमा प्रश्न उठाउनु पर्नेमा जोड दिनुभयो ।
सदस्य थापाले आफूहरुले स्रोत, साधन र प्रविधि नभएको अवस्थामा सामाजिक न्याय र मानव अधिकारका सवालमा पैरवी गरेको स्मरण गर्दै नेपालको शासन व्यवस्था र विश्वमा परिवर्तनका लागि अग्रजहरुबाट पुर्याइएको योगदानको बारेमा अध्ययन र अनुभव बारे नयाँ पुस्ताले भुल्न नहुनेमा जोड दिनुभयो ।
उहाँले २०५२ सालदेखि भएको १० वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियाामा आइपुग्दा भन्दा २०८२ भदौ २३ र २४ गतेको घटना हुँदा प्रविधिका कारण प्रमाण जुटाउन र कानुनी दायरामा ल्याउन सहज भए पनि सम्बन्धित निकायबाट उचित पहल नभएको प्रति ध्यानाकर्षण गर्नुभयो ।
इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले युवा मानव अधिकार रक्षक सम्मेलन किन आवश्यक पर्यो भन्ने सवालमा हिजो र आजलाई जोडेर भोली हुने स्मरण गर्दै नेपाली युवाहरुको पहल कदमीबाट नै जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनार्थ आन्दोलन गरेको घटनाको विवेचना गर्नुभयो ।

उहाँले समाज परिवर्तनका वहाक नै युवा भएकाले विश्वमा भएका आविष्कारको प्रयोगका लागि सचेत भएर काम गर्नु पर्ने सुझाव दिँदै ०८२ भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन जस्ताको तस्तै नागरिकले हेर्न र पढ्न पाउने वातावरण सिर्जना गर्न माग गर्नुभयो ।
संस्थापक अध्यक्ष प्याकुरेलले नागरिक तथा मानव अधिकारका सवालमा संस्थागतरुपमा काम गर्ने परिपाटीको विकासको खाँचो औल्याउदै राजनीतिक क्षेत्रको अदुरदर्शीताका कारण बिगतमा भएका कमजोरीबाट पाठ सिकेर शासकहरुबाट समाजमा ल्याउने बिखण्डनबाट बिचलित नभइ काम गर्नु पर्ने बताउनु भयो ।
इन्सेकका अध्यक्ष विजयराज गौतमले इन्सेक सधै युवाका साथमा रहेको स्मरण गर्दै देशका ७७ वटै जिल्लाबाट सम्मेलनमा सहभागी भएका युवाहरुको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

उहाँले ०८२ भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनको कार्यान्वयमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी प्रमुख गेहनाथ गौतमले २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट १ सय २ जना सांसद र हालको मन्त्रिपरिषद्मा ११ जना मन्त्री ४० वर्षभन्दा कम उमेर समूहका रहेकाले युवामय भएको अवस्थाले देशमा युवामैत्री दृष्टिकोणबाट काम हुने अपेक्षा गर्नुभयो ।

उहाँले युवा मानव अधिकार सञ्जालको विकास गरी अघि बढ्नु पर्ने उल्लेख गर्दै मानव अधिकार र नागरिक कर्तव्य सँगसँगै अघि बढाउनु पर्ने धारणा राख्नुभयो ।
रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले मानव अधिकार आन्दोलनको नेतृत्व युवाहरुले गर्नु पर्ने स्मरण गर्दै राज्यबाट गैर कानुनी थुनामा राख्ने, नागरिकहरुमा डिजिटल हिंसाका साथै देशमा सामाजिक अभियानबका लागि कानुनी अल्झन समेत बढिरहेकोमा युवाहरुको सक्रियताका लाग आग्रह गर्नुभयो ।

उहाँले जलवायु परिवर्तन र सामाजिक न्यायका सवाललाई राज्यले जिम्मेवार र जवाफदही भएर काम गर्ने वातावरणका लागि पहल गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।
डिजिटल राइट्सका सन्तोस सिग्देलले मिस इन्फर्मेशन र डिस इन्फर्मेसनदेखि डिजिटल प्लेटफर्मबाट अरुको मानमर्दन गर्नेदेखि समाजमा भ्रम फैल्याउने काम भइरहेकोले आगामी दिनमा मानव अधिकारको रक्षा र सबैको अधिकारको संरक्षण गरी मानव अधिकार संस्कृतिको विकासमा सहकार्य हुनु पर्नेमा जोड दिनुभयो ।

भिजिबल इम्प्याक्टका कार्यकारी निर्देशक दिपेश लिम्बुले सन् २०१५ देखि मानव अधिकारका क्षेत्रमा स्वास्थ्यको विषयलाई प्राथमिकता दिँदै आएको स्मरण गर्दै अपाङ्गता भएका व्यक्तिहरुका साथै समाजमा सबैको समान अधिकार भएकोमा जोड दिनुभयो ।

रोयम नेपालका योगमाया र्याउलेले कर्णाली प्रदेशमा काम गर्दै आएको स्मरण गर्दै युवाहरुले मानव अधिकारदेखि शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायतका विषयमा पीडितको न्यायका लागि काम गर्दै आएकोमा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेकका बरुण बस्याल र बिकला वाग्लेले सामाजिक परिवर्तनका लागि युवाहरुले भोग्दै आएका समस्याहरुको समाधानमा पहल गर्दै संगठित हुने क्रमबाट युवा मानव अधिकार रक्षक सम्मेलन समेत भएको बताउनु भयो ।







HUMAN RIGHTS NEWS PORTAL






