प्रहरीबाट हुन सक्ने मानव अधिकार उल्लङ्घनका सम्भावित घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा र इन्सेकको सहकार्य तथा समन्वयमा अभिमुखीकरण कार्यक्रम ०८३ भदौ १ गते वीरगंजमा सम्पन्न भएको छ । ५० जना प्रहरी कर्मचारीलाई मानव अधिकारसम्बन्धी ज्ञान तथा कानुनी व्यवस्थाबारे जानकारी गराई कार्यसम्पादनका क्रममा मानव अधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको प्रहरी नायव निरीक्षक हिरा बुढाथोकीले बताउनु भयो ।
इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीले प्रहरी कर्मचारी तथा अधिकृतलाई मानव अधिकारको अवधारणा, संरक्षण, पालना तथा विश्वव्यापी सिद्धान्तका विषयमा जानकारी गराउनुभयो ।

अभिमुखीकरणका क्रममा नेपालको संविधान तथा राष्ट्रिय कानुनी व्यवस्था, मानव अधिकारका विश्वव्यापी सिद्धान्त, पीडितले उजुरी गर्न पाउने अधिकार, नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धी तथा महासन्धीको पालना र मानव अधिकारकर्मीको भूमिकालगायत विषयमा जानकारी गराइएको थियो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा मानव अधिकारका आधारभूत मान्यताको पालना गर्नुपर्नेमा इन्सेक प्रतिनिधि भण्डारीले जोड दिनुभयो ।
सो अवसरमा प्रहरी नायव उपरीक्षक राजु कार्कीले प्रहरीबाट हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि आगामी दिनमा पनि इन्सेक प्रतिनिधि तथा मानव अधिकारकर्मीसँग निरन्तर समन्वय गरिने भन्नुभयो । कार्यसम्पादनमा मानव अधिकारको सम्मान र संरक्षण महत्वपूर्ण पक्ष भएको भन्दै मानव अधिकारको संरक्षण तथा उल्लङ्घन न्यूनीकरणका लागि प्रहरी र मानव अधिकार क्षेत्रमा कार्यरत संस्थाबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेकोले यस विषयमा पर्सा प्रहरी गम्भीर रहेको उहँको भनाइ थियो ।
HUMAN RIGHTS NEWS PORTAL






