मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
तनहुँ । २०८१ मङ्सिर २५ गते
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राज्य मानव अधिकारको संरक्षक भएको हुँदा मानव अधिकारको सम्मान र संरक्षण गर्न स्थानीय प्रशासन सचेत रहेको बताउनु भयो ।
मानव अधिकार दिवसको अवसरमा कारागारको अनुमगन गर्नाले कारागारलाई सुधारगृहको रुपमा परिणत गर्न सहयोग पुग्ने र कैदी बन्दीको आधारभुत अधिकार प्रत्याभूतिका लागि राज्यलाई दबाब पुग्ने बताउनु भयो ।
इन्सेक प्रतिनिधि अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा कारागार कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल, सेतो गुराँस बालविकास सेवाका सदस्य कृष्णचन्द्र पाण्डे, अधिवक्ता सरिता भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा महिला बन्दीगृहमा आमासँग आश्रित दुई जना बालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री तथा इन्सेकको तर्फबाट मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु प्रदान गरिएको थियो ।
सो कार्यक्रम गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखा, इन्सेक, सेतो गराँस, महिला मानव अधिकार रक्षक सन्जाल, मानव अधिकार एलान्यस, मानव अधिकार तथा कैदीबन्दी न्यायीक सरोकार मञ्च, मानव अधिकार एलयान्स, नेपाल बार एसोसियसन मानव अधिकार समिति, काहुराष्ट र ग्रामीण सशक्तिकरण समाजको सहभागिता रहेको थियो ।
तनहुँ कारागारमा सोमबारसम्म कैदी २ सय १ जना तथा थुनुवा १ सय २४ र दुई जना बालिका सहित ३ सय २७ जना रहेका छन् । जसमा २६ जना महिला रहेका छन् । कैदी बन्दीमा सबैभन्दा धेरै बलात्कार मुद्दाका ६५ कैदी र २६ थुनुवा सहित ९१ जना रहेका छन् । यसैगरी लागु औषध मुद्दामा कैदी ३२ तथा थुनुवा ४४ गरी ७६ जना र कर्तव्य ज्यान मुद्दामा ३४ कैदी र १२ थुनुवा गरी ४६ जना रहेको कारागार कार्यालयका प्रमुख नारायण अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशचन्द्र भट्टराई
HUMAN RIGHTS NEWS PORTAL






