मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

सुर्खेत । २०८२ पुस १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गते मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम वीरेन्द्रनगरमा सुरु गरिको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारकी पूर्व उर्जा मन्त्री एवं प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले अरुको अधिकारका लागि वकालत गर्ने रक्षकहरुलाई क्षमता अभिवृद्धिका तालिमको आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारमा रोकिएको मानव अधिकार रक्षक विधेयकलाई पास गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । मानव अधिकारकर्मीले आफ्नो अधिकारको सदुपयोग गर्दा अरुको अधिकारको ख्याल राख्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक एवंम् मध्यपश्चिम विश्व विद्यालयका पूर्व डिन पिताम्बर ढकालले मानव अधिकारभित्र पनि स्वतन्त्रता र समानताको विषय महत्पवुर्ण रहेको भन्दै मानव अधिकार रक्षकहरुलाई आवश्यक कानुनको आवश्यकता रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त कार्याल्य प्रमुख मानबहादुर कार्कीले समय परिवेशसँगै मानव अधिकार उल्लङ्घनका विषयहरु पनि फेरिँदै गएको बताए । सोही अनुसार मानव अधिकार रक्षकहरुले आफ्नो कार्यक्षेत्रको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले स्वागत तथा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै मानव अधिकार रक्षकहरुलाई पछिल्लो समय थपिएको चुनौतीलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको बताउनु भयो ।

सहभागीहरूलाई मानव अधिकारमा आधारित दृष्टिकोणको ज्ञान र व्यवहारिक प्रयोगमा सक्षम बनाउने, आर्थिक ,सामाजिक, सांस्कृतिक अधिकार, मानव अधिकार रक्षक सम्बन्धी अवधारणा बुझाउने र यसको प्रवद्र्धन गर्न व्यवहारिक क्षमता विकास गर्ने, मानव अधिकारका मुद्दाहरू पहिचान गर्न, सरोकारवाला निकायहरू पहिचान र कार्ययोजना निर्माण गर्ने क्षमता विकास गर्ने, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, व्यवसाय र मानव अधिकार, वातावरणीय अधिकार, लैङ्गिक हिंसा र जातीय विभेद सम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने, मानव अधिकार, बालअधिकारको प्रवद्र्धन र संरक्षणमा मानव अधिकार रक्षक र बालअधिकार समुह तथा सरोकारवालाको भुमिकालाई सशक्त बनाउने तालिमका उद्देश्यहरु रहेका छन् ।

मानव अधिकारको अवधारणागत प्रस्तुति र नेपालमा वर्तमान मानव अधिकारका सवालमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले, नेपालमा मानव अधिकार रक्षकः अवधारणा, अवसर र चुनौतीका विषयमा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले, मानव अधिकार तथ्य संकलन सीपका विषयमा इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले, जातीय विभेद तथा लैङ्गिक हिंसाविरुद्धका कानुनी प्रणाली र यसका पक्षहरूका विषयमा अधिवक्ता गीता कोइरालाले, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव वीरेन्द्र केसीले, समस्या पहिचान र सरोकारवालाको नक्साङ्नका, मानव अधिकार रक्षकको भूमिका विषयमा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी संयोजक शर्मिला बिसीले सहजीकरण गर्नुहुनेछ ।

त्यस्तै मानव अधिकार र बाल अधिकार संरक्षणमा बालअधिकार समूह र मानव अधिकार रक्षकको भूमिका, मानव अधिकार रक्षकका लागि वहस तथा पैरवी रणनीतिका विषयमा समेत प्रस्तुतिकरण गरिनेछ । समापनमा कार्ययोजना निर्माण तथा प्रतिवद्धता समेत गरिनेछ । पुस २० गते सम्पन्न हुने तालिममा ३३ जनाको सहभागिता रहेको छ ।

कर्णाली प्रदेश कार्यालय