मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

कास्की । २०८२ चैत २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूको प्रदेशस्तरीय क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न भएको छ ।

मानव अधिकार रक्षकहरू निरन्तर अभियानमा संलग्न रहने भएकाले राज्यले निर्माण गरेका कानुन तथा मानव अधिकारसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजबारे जानकारी राख्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । साथै समुदायमा घट्ने घटनाहरूको सही तरिकाले खोजी, अभिलेखीकरण तथा प्रभावकारी प्रतिवेदन लेखन सीप विकास गर्नुपर्ने विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो ।

       

तालिम उद्घाटनसत्रमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले नागरिक समाज र अधिकारकर्मीहरू आवाजविहीन समुदायको आवाज बन्नुपर्नेमा जोड दिनुभयो । तालिमका क्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखराकी प्रमुख नितु गर्तौला र इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक गणेश भण्डारीले मानवअधिकारको अवस्था, आर्थिक–सामाजिक तथा सांस्कृतिक अधिकार, जातीय विभेद र लैङ्गिक हिंसासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बरालले लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक विभेदका चुनौतीबारे प्रस्तुति दिनुभएको थियो ।

दोस्रो दिन पत्रकार दीपेन्द्र श्रेष्ठले नेतृत्व विकास, समस्या पहिचान र सरोकारवालाको नक्साङ्कनमा मानवअधिकार रक्षकको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टंक खनालले मानवअधिकार रक्षकको भूमिका तथा बालअधिकार संरक्षणका सन्दर्भमा बाल अधिकार समूह र मानवअधिकार रक्षकको भूमिकाबारे सहजीकरण तथा प्रस्तुति दिनुभयो उक्त सत्रमा मानवअधिकार तथ्य सङ्कलन, अभिलेखीकरण, जनवकालत रणनीति निर्माण तथा कार्ययोजना तयारीसम्बन्धी विषयमा समेत प्रशिक्षण सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूलाई घटनाहरूको पहिचान, अनुगमन र प्रभावकारी पैरवीका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

   

कार्यक्रममा सहभागी जेन जि सहभागी शुभेग पाण्डेले आफूलाई कार्यक्रममा आमन्त्रण गरेकोमा इन्सेक गण्डकी प्रदेशलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न सुझाव दिनुभयो । सहभागी राजन रिमालले मानवअधिकार, जातीय विभेद, वैदेशिक रोजगार तथा लैङ्गिक विभेदका विषयमा विस्तृत जानकारी प्राप्त भएको बताउँदै समय–समयमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रमको समापन मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका अध्यक्ष रामहरि ढुङ्गानाले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिमले मानवअधिकार संरक्षण, सामाजिक न्याय प्रवद्र्धन तथा समुदायस्तरमा जनवकालत सुदृढीकरणका लागि सहभागीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गरेकोे छ ।

तालिममा मानव अधिकार रक्षक, शिक्षक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

    समिक्षा ढकाल