मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

मकवानपुर । २०८२ मङ्सिर २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि हेटौंडामा ०८२ मंसिर २२ गते क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

क्षमता अभिवृद्धि तालिम कार्यक्रमको समापनका प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालको संविधानमा उल्लेख भएका मौलिक हक तथा कानुन साथै नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा निहित अधिकारहरु हरेक नेपाली नागरिकहरुले उपभोग गर्न पाउनु पर्ने बताउनु भयो ।

उहाँले शान्ति र मानव अधिकार मार्फत नेपालमा सुशासन वृद्धि गर्न मानव अधिकार रक्षकहरुको महत्वपूर्ण भूमिका रहने साथै मानव अधिकारको सुनिश्चितताका लागि त्यसको प्रभावकारिता र कार्यान्वयन अवस्थाको बारेमा अनुगमन गर्ने जिम्मेवारी समेत मानव अधिकार रक्षकहरुको हुने प्रष्ट पार्नु भयो ।

      

इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले तालिमका सहभागीहरुले मानव अधिकार सम्बन्धी क्षमता अभिवृद्धि गरी मानव अधिकार रक्षकहरुलाई पीडितका पक्षधर बनाउन प्रयास गरेको बताउनु भयो । उहाँले आफ्नो प्रस्तुतीकरणका क्रममा मानव अधिकार अनुगमनका सैद्धान्तिक आधार, अनुगमनका पाँच चक्र तथा प्रतिवेदन लेखनका प्रमुख बुँदाहरू सम्बन्धी प्रस्तुति दिनुभएको थियो।

मानव अधिकारको अवधारणागत प्रस्तुती र नेपालमा मानव अधिकारका सवालका बारेमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख चन्द्रकान्त चापागाई प्रस्तुतकीरण समेत गर्नु भयो ।

तालिमको समापन अवसरमा सहभागीको तर्फबाट सिन्धुली जिल्लाका स्थानीय मानव अधिकार रक्षक तथा पत्रकार रुद्रबहादुर खड्काले मानव अधिकारका विषयवस्तु सारै गहकिलो विषय भएकाले जान्न र बुझ्न जरुरी रहेको बताउनु भयो ।   

मञ्जिता मैनाली