मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

कैलाली । २०८२ असोज ७ गते

अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक ०८२ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा उत्पन्न संक्रमणकालिन अवस्थामा नागरिक समाज तथा मानव अधिकार रक्षकहरुको भूमिकालाई सकृय रुपमा अगाडी बढाउने उद्देश्यले नियमित बैठकको आयोजना गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो— ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक संरचनाको क्षतिको विवरण संकलन गर्न आवश्यक छ । नागरिकलाई सेवा प्रवाह गर्दा चाहिने आवश्यक सामाग्री उपलब्ध गराउन सबै सरोकारवालाहरुसँग समन्वय गरी सहयोग गर्न र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला निकाय जिम्मेवार हुन आवश्यक छ ।’

    

राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव झंकर रावलले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको अनुगमन गरिरहेको बताउँदै मानव अधिकार उल्लङ्घन भएको अवस्थामा आयोगमा उजुरी दिन सबैलाई आग्रह गर्नु भयो ।

गैरसरकारी संस्था माहासंघका प्रदेश अध्यक्ष देवीप्रसाद खनालले भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बिभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुले अपराधिक गतिविधि बढाउन सक्ने सम्भावना देखिएकाले आ–आफ्नो कार्यक्षेत्रमा सचेत भएर काम गर्नु पर्ने बताउनु भयो ।

ओेरेक नेपालकी गिता चौधरीले कैलारी गाउँपालिकामा सरकारी कार्यलयमा भएको तोेडफोड आगजनीका कारण नागरिकमा मानसिक त्रास फैलिएकोले प्रभावित क्षेत्रका नागरिकलाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताउनु भयो ।

फाया नेपालकी अध्यक्ष गोमा अचार्यले जेनजी आन्दोलनका कारण भारतीय सीमा नाकामा भारतबाट फर्किने र मजदुरी गर्नका लागि भारत जाने नेपाली नागरिकहरुले भारतीय प्रहरीबाट बिभिन्न हिंसा खेप्नु परिरहेकोले यसतर्फ सरोकारवालाहरुको ध्यान दिन आवश्यक रहेको बताउनु भयमो ।

जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष नाथुराम महतोले जेनजी आन्दोलनका कारण उत्पन्न अशान्तिका कारण बारको कार्यालयमा समेत ठुलो क्षति भएकोले सहयोगका लागि नागरिक समाजले पनि पहलकदमी गर्न र आर्थिक तथा अन्य कारणले समस्यामा परेका व्यक्तिहरुको कानुनी सहायकताका लागि जिल्ला बार, कैलालीले निःशुल्क कानुनी सेवा उपलब्ध गराउने बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जालको नियमित बैठकमा मानव अधिकार रक्षक सञ्जाल विस्तार गर्ने, आगामी कार्ययोजना बनाएर सोही योजना अनुसार काम गर्ने, कार्य क्षेत्रमा देखिएका मानव अधिकार उल्लङ्घन र अपराधीक घटना बारे राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्ने, हाल देशमा उत्पन्न  विषम् परिस्थितिमा नागरिकहरुको हकका लागि राजनीतिक दल र जेनजीहरुसँग समन्वय छलफल गर्ने र मानव अधिकार रक्षकहरुको सुरक्षाका लागि निरन्तर छलफल गरिरहने निर्णय समेत गरिएको छ ।

मानव अधिकार रक्षक सञ्जालको नियमित बैठकमा इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संघसंस्था महासंघ, पत्रकार महासंघ, जिल्ला अदालत बार एशोसिएशन लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल ०८२ असोज २ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक पदेश संयोजक खडकराज जोशीले जेनजी आन्दोलनको कारण उत्पन्न परिस्थितिमा मानव अधिकार रक्षकहरुले मानव अधिकारसम्बन्धी घटनाको अनुगमन तथा सूचना संकलन गर्न जादा विशेष सावधानी अपनाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो—‘अहिले देश संकटमा रहेको अवस्थामा मानव अधिकार रक्षकहरुको सरक्षाको चुनौती बढेको छ । मानव अधिकार रक्षकहरुले एकआपसमा सहयोग, समन्वय र छलफललाई निरन्तरता दिन आवश्यक छ ।’

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत घरेलु तथा यौन हिंसामा परेका आर्थिक अवस्था दयनीय रहेका पीडितहरुको न्यायिक प्रकृयाका लागि सन् २०२५ जनवरीदेखि हाल  सम्म १६ जना पीडितलाई १० हजार रुपियाँका दरले आर्थिक सहयोग गरिएको र दुई जना पीडितहरुले पनि मानव अधिकार सहायता कक्षमा सहयोगका लागि निवेदन दिनुभएकोले उहाँहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी संयोजक वेद अवस्थीले समुदायस्तरमा घरेलु र यौन हिंसा पीडितसँगै आर्थिक अवस्था दयानीय भएका पीडितहरु पनि रहनुभएकोले उहाँहरुको न्यायका लागि पनि सहायता कक्षमार्फत पहल गरिनु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी