मानव अधिकार रक्षक सञ्जाल गण्डकीे प्रदेशको दोस्रो बैठक सम्पन्न

कास्की । २०८२ चैत १२ गते

मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको दोस्रो बैठक ०८२ चैत ११ गते पोखरामा सम्पन्न भएको छ ।

बैठकमा मानव अधिकार संरक्षण, सुशासन कायम गराउने, समाजमा न्याय र समानताको सोचलाई प्रवद्र्धन गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी, फोहोर व्यवस्थापन, खाद्यान्न सुरक्षा तथा खाद्यान्न सरसफाइका विषयलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । यी विषयहरू नागरिकको आधारभूत अधिकारसँग जोडिएका महत्वपूर्ण पक्ष भएकाले सञ्जालले सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेको छ । बैठकमा आगामी २०८२ चैत २० गते सम्बन्धित निकायसमक्ष ध्यानाकर्षपत्र बुझाउने निर्णय समेत गरिएको छ, जसमा मानव अधिकार संरक्षण, तथा जनजीविकासँग सम्बन्धित मुद्दाहरू समेटिने जनाइएको छ ।

मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुङ्गानाले सार्वजनिक चासोका विषय तथा मानव अधिकार उल्लङ्घनका घटनामा सदस्य संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सञ्जालको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, सुशासन प्रवद्र्धन, फोहोर व्यवस्थापन तथा वातावरण जस्ता विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उक्त बैठकमा सचिव सावित्री घिमिरेले आगामी एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सञ्जालका सदस्य संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूद्धारा मानव अधिकार रक्षाका विविध सवालहरूमा सरोकारवाला निकायसँग सहकार्य गर्दै प्रभावकारी भूमिका निर्वाह गर्ने सामुहिक प्रतिबद्धता गरिएको थियो ।

गण्डकीे प्रदेश कार्यालय