अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा ०८२ चैत ११ गते पोखरामा गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक प्रमुख अतिथि र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नीतु गर्तौला विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकलाई इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार वर्ष पुस्तक २०२६ हस्तान्तरण गर्नुभयो । साथै भण्डारीले सन् २०२५ मा गण्डकी प्रदेशमा ७ सय जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क सार्वजनिक गर्नुभयो ।
यस वर्ष गण्डकी प्रदेशमा इन्सेकले गरेको अभिलेख अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्य पक्षबाट दुई जना महिला सहित ५६ जना र अन्य पक्षबाट ५ सय २४ महिला सहित ६ सय ४४ जना गरी ७ सय जना पीडित भएको इन्सेकमा अभिलेख गरिएको छ । गत वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा अन्य पक्षबाट ४ सय २९ महिला सहित ७५ पुरुष गरी ५ सय ४ जना पीडित भएका थिए । गत वर्ष भन्दा योे वर्ष १ सय ९६ जना बढि पीडित भएको इन्सेकमा अभिलेख गरिएको छ । जसको कारण नव युवापुस्ता आन्दोलन रहेको छ ।

नवयुपस्ताले गरेको आन्दोलनको क्रममा भदौ २४ गते आगजनीमा परी ५० वर्षीया कान्छी नगरकोटी, २६ वर्षीया स्वस्थानी खड्का र ४२ वर्षीय विजय लामा गरी तीन जनाको मृत्यु भएको थियो । एक जना लक्ष्मण नेपाली प्रहरीको गोली लागि घाइते भएकोमा उनको अझै काठमाडौँमा उपचार भइरहेको छ । कास्की जिल्लामा १ सय १ जना, तनहुँमा २६ पर्वतमा ३ जना र गोरखामा एक जना गरी १ सय ३१ जना घाइते भए । जसमा घाइते मध्ये प्रहरीले चलाएको गोली, गोलीको छर्रा र लाठीचार्जबाट २७ जना घाइते भएको समेत उहाँले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट ९ हजार ६४ जना कैदी बन्दी फरार रहेकोमा अझै कास्कीमा १ सय ५८ , तनहुँमा ४९, पर्वतमा ६ र म्याग्दीमा ४ जना कैदी बन्दी अझै २ सय १७ जना फरार रहेको इन्सेकको अभिलेखमा रहेको छ । बालसुधार गृहबाट ९८ जना फरार रहेकोमा अझै ११ जना बालबन्दी फरार रहेका छन् ।
यस अवधिमा १ सय ७१ जना घाइते, दुई जना अमानवीय व्यवहारबाट पीडित, एक जना अपहरण, ४ सय १६ जना महिला अधिकार उल्लङ्घनबाट पीडित, १२ कुटपिट र सात धम्कीका घटना इन्सेकले अभिलेख गरेको छ । साथै कारागारमा एक जनाको मृत्यु भएको तथा जातीय विभेदका एक घटना अभिलेख गरिएको छ ।
त्यसैगरी अन्य पक्षबाट एक जनालाई धम्की, अपहरणमा एक जना, घरेलु हिंसामा ३ सय ७२, बोक्सी आरोपमा एक जना, परिवारजनबाट हत्या आठ जनाको हत्या, बलात्कारबाट ३१ जना, बलात्कार र यौन दुव्र्यवहारबाट तिन जना गरी ४ सय १६ जना महिला पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस अवधिमा ७३ जना बाल अधिकार उल्लङ्नबाट पीडित पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये विधालयबाट दण्ड सजायमा पाँच जना, बलात्कारबाट ५० जना, यौन दुव्र्यबहारबाट बालिका १७ र बालक एक गरि १८ जना पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
०८२ भदौ २४ गते नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा सरकारी कार्यालय, स्थानिय सरकारका भवन, पार्टी कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी हुँदा गण्डकी प्रदेशमा ५ सय ८६ ओटा भौतिक संरचनामा क्षति पुगेको इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको भण्डारीले बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले इन्सेक प्रति धन्यवाद ज्ञापन गर्दै मानव अधिकारलाई नैसर्गिक अधिकारका रूपमा स्थापित गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मानव अधिकारको क्षेत्र सुदृढ गर्दै पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउन आपसी संवाद, समझदारी र निरन्तर छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो । विगतमा कमजोर रूपमा सञ्चालन भएका प्रयासहरूलाई सुधार गर्दै नागरिकका संवैधानिक अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रदेश प्रमुख नीतु गर्तौलाले मानव अधिकार दृष्टिकोणलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, राज्य तथा सम्बन्धित निकायलाई नागरिकप्रति जवाफदेही बनाउँदै महिला, बालबालिका तथा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने, भेदभावरहित वातावरण सिर्जना गर्नुपर्ने र नागरिकलाई आफ्ना अधिकारप्रति सचेत तथा सशक्त बनाउनु आवश्यक रहेको बताउदै इन्सेकले निरन्तर रुपमा मानब अधिकार वर्ष पुस्तक प्रकाशन गरि मानव अधिकारको सरक्षण र सर्वधन गदै आएकोमा धन्यवाद दिनुभयो ।
सहभागीमध्ये कमल पौडेलले मानव अधिकारको संरक्षणका लागि निरन्तर सचेतना र संस्थागत सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । त्यस्तै, जेन्जी प्रतिनिधि अनिल क्षेत्रीले युवाहरू मानव अधिकार संरक्षण र सामाजिक न्यायका विषयमा सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । मासम नेपालका संयोजक ध्रुव सिङ खड्काले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न स्थानीय तहदेखि नै निगरानी र सचेतना आवश्यक रहेको बताउनुभयो
यसैगरी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुङ्गानाले मानव अधिकारका विषयमा निरन्तर खुलेर छलफल, संवाद र पैरवी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी नियोकका संयोजक विष्णुप्रसाद बरालले वर्तमान अवस्थामा रक्षक नै भक्षक भएको अवस्था देखिएको टिप्पणी गर्नुभयो । उहाँले नागरिक समाजले देशलाई सुशासनतर्फ लैजान सक्ने शक्ति राख्ने भए पनि व्यक्तिगत स्वार्थ र राजनीतिक झुकावका कारण नागरिक समाज कमजोर बन्दै गएको बताउनुभयो । साथै, नेपाल मानव अधिकार वर्ष पुस्तकले उपलब्ध गराएको सूचनालाई विश्लेषण गरी राज्यले प्रभावकारी नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले मानव अधिकारलाई केवल कानुनी अवधारणामा सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार मानव अधिकार दृष्टिकोणअनुसार राज्य, नागरिक समाज र युवाहरूबीच सहकार्य, जवाफदेहिता र समावेशी सहभागिता सुनिश्चित गर्न सके मात्रै अधिकार संरक्षण प्रभावकारी हुने धारणा राखेका थिए ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल, युवा प्रतिनिधि, विभिन्न संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, कानून व्यवसायी, पत्रकार तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, प्रवद्र्धन तथा उल्लङ्घन न्यूनीकरणका लागि सबै पक्षबीच समन्वय, सहकार्य आवश्यक रहेकोमा बताएका थिए ।
HUMAN RIGHTS NEWS PORTAL






