लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ०८२ मङ्सिर २३ गते विभिन्न संघसंस्थाको आयोजनामा ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत एवं निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैको सहभागिता र शान्तिपूर्ण निर्वाचन बनाउन नागरिक समाज संघ संस्था र आयोगले भूमिका खेल्नुपर्ने बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले निर्वाचनमा भाग लिएका दलहरुले स्वच्छ प्रतिस्पर्धा गरेर नागरिकलाई शान्तिपूर्ण तरिकाले मतदानमा सहभागी गराउनुपर्ने बताउनु भयो । मानव अधिकार संरक्षणका लागि सबैको भूमिका महत्वपूर्ण रहेको संयोजक ढकालको भनाई छ । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सिपी शर्माले संघसंस्थाले निर्वाचनको समयमा मानव अधिकारका सवाललाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उच्च बार एशोसियसन सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाले जेनजी आन्दोलनमा लुटिएका हतियारहरुका कारण आगामी भएरहित हुननसक्ने बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले निर्वाचन र मानव अधिकारको विषयमा प्रस्तुतिकरण गर्दै पछिल्लो समय जेनजी आन्दोलनले पनि युवाहरुको सहभागितालाई मुख्य विषय बनाएकोले यसमा दलहरुले समेत ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले शान्तिपूर्ण निर्वाचन बनाउन नागरिक समाज संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै एकजुट भएर अनुगमन, वहस र अभिलेखिकरणका कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका सहभागीहरुले निर्वाचन प्रक्रिया, मतदाताको अधिकार, समावेशीता, निष्पक्षता र मानव अधिकारको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूले निर्वाचन मानव अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील प्रक्रिया भएको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि राज्य संयन्त्र, राजनीतिक दल र नागरिक सबैको भूमिकाको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।
वीरेन्द्रनगरमा सम्पन्न संवादमा नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार तथा विविध क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो । कार्यक्रममा निर्वाचनमा हुने अनियमितता, पहुँचविहीन समुदायको सहभागिता, महिला तथा दलित समुदायको प्रतिनिधित्व, मतदाता शिक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफले गरिएको थियो । संवादले आगामी निर्वाचनलाई थप पारदर्शी, अधिकारमैत्री र उत्तरदायी बनाउन सहयोग पुग्ने आयोजकहरूको भनाइ छ ।
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा आयोजित र्याली
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक लगायतका संस्थाहरुको संयुक्त आयोजना ०८२ मङ्सिर २३ गते बृहत् मानव अधिकार र्याली निकालिएको छ । ‘हाम्रो मानव अधिकार, हाम्री सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु गरिएको याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
वीरेन्द्रनगरका विभिन्न भाग परिक्रमा गरिएको र्यालीमा सहभागिहरूले मानव अधिकारको संवद्र्धन, समानता, न्याय र मर्यादापूर्ण जीवनको पक्षमा लेखिएका प्लेकार्डहरु समातेका थिए ।

र्यालीका सहभागीहरूले मानव अधिकार सबैको दैनिकीमा लागू हुनुपर्ने, राज्यका नीति, कार्यक्रम नागरिकमैत्री र मानव अधिकारमैत्री हुन जरुरी रहेको भन्दै विभेद तथा हिंसाको अन्त्यका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने संदेश दिएका छन् ।
मानव अधिकार दिवसको सन्देशलाई जनस्तरमा पुर्याउने उद्देश्यसहित गरिएको सार्वजनिक र्याली कर्णाली प्रदेशमा सक्रिय विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो ।
विभिन्न संघ–संस्था, अधिकारकर्मी, विद्यार्थी, महिला समूह तथा नागरिक समाजका प्रतिनिधि लगायत एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






