मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

सल्यान । २०८२ पुस ४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यान जिल्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ५९ ओटा घटनाहरु इन्सेकले अभिलेख गरेको इन्सेक प्रतिनिधि रामचन्द्र रेग्मीले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक गरिएको तथ्याङ्कमा सबै भन्दा बढी बलात्कार तथा  बलात्कार प्रयासका घटना भएका छन् । जसमा बालिका बलात्कार तथा यैनदुर्व्यवहारका घटना १७, महिला बलात्कार तथा प्रयासका घटना ६ वटा भएका छन् । यस्तै हत्याका घटना तीन, ज्यान मार्ने उद्योगका तीन, कुटपिटका घटना २१, अभद्र व्यवहार, गाली बेइज्जत तथा हातपातका आठ र जातीय विभेदका दुई वटा घटना भएका छन । अधिकांश घटना आफ्नै घरपरिवार, नातागोता, छरछिमेकबाटै भएको पाइएको छ ।

   

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले मानव अधिकार उल्लंघनका घटनाहरु मध्य बालिका बलात्कारका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय सामाजिक संजालको अनावश्यक प्रयोग, मदिरा सेवन, विभिन्न कुलतका कारण यस्ता घटना बढ्दै गएको बताउनु भयो । यसमा सरोकारवाला तथा जनप्रतिनिधि र अभिभावकहरु गम्भीर बन्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालका कारणले मानव अधिकार उल्लङ्घनका घटना बढेको बताउनु भयो । जिल्लामा हुने यस्ता घटनाको न्युनीकरणका लागि मानवअधिकारका क्षेत्रमा काम गर्ने निकाय लगायत सबै पक्ष गम्भीर भइ अघि बढनुपर्ने बताउनु भयो ।

इन्सेक प्रतिनिधि रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसी, सरकारी वकिल कार्यलयका प्रमुख गोविन्द आचार्य, सामुदायिक रेडियो प्रशारक संघ अकोर्याप कर्णाली प्रदेशका अध्यक्ष प्रतीक ईच्छुक शर्मा, पत्रकार, नागरिक समाजका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले गर्नुभएको थियो ।

रामचन्द्र रेग्मी