अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय र जिल्ला समन्वय समिति सिन्धुलीको संयुक्त आयोजनामा ०८३ भदौ २६ गते सिन्धुलीमाढीमा मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको अभिमुखीकरण कार्यक्रम र जिल्ला स्तरीय समिति गठन गरिएको छ । कार्यक्रममा सिन्धुली क्षेत्र नं. १ का सांसद धमेन्द्रबहादुर कार्कीले मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेख भएका हक अधिकार कार्यान्वयनका लागि सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । छैटौँ राष्ट्रिय कार्ययोजनाले मानव अधिकारको संरक्षण संवर्धनका लागि तीन ओटै तहका सरकारको भूमिका रहने बताउनु भयो ।
बागमती प्रदेश सभाका सदस्य मात्रिका भट्टराईले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनामा शिक्षा स्वास्थ्य, सामाजिक न्याय लगायत विभिन्न १७ ओटा मानव अधिकार सम्बन्धी मुख्य प्राथमिकताका क्षेत्र निर्धारण गरी सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने जिम्मेवार, सहयोगी निकाय, कार्यसम्पादनको समय सीमा, कार्यसम्पादनको नतिजा, सूचक आदी स्पष्ट उल्लेख गरिएको बताउनुभयो । कार्ययोजना कार्यान्वयन अवस्थाको अर्धवार्षिक र वार्षिक प्रतिवेदन तयार गरेर प्रदेश समन्वय समितिमा पठाउने जिम्मेवारी सहित जिल्ला कार्यसमिति गठन गरिएको जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले जानकारी दिनु भयो ।

मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशका सदस्य रुद्रबहादुर खड्काले मानव अधिकार सम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन मार्फत मानवीय मर्यादा, सामाजिक न्याय, समावेशी अधिकार र समानतामा आधारित न्यायपूर्ण समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको अभिमुखीकरण कार्यक्रममा यस कार्ययोजनाले प्राथमिकता दिएका १७ ओटा विषयमाथि मानव अधिकारकर्मी एवम् सामाजिक अभियन्ता लोकमणी तिमिल्सेनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको कार्यपत्र माथि छलफल गर्दै सहभागिताहरूले राख्नु भएको जिज्ञासाको समाधान सहजकर्ता तिमल्सिनाले गर्नु भएको थियो । कार्ययोजना कार्यान्वयन सुनिश्चितताका लागि स्थानीय तहबाट हुने कार्य योजना कार्यान्वयनका क्रममा समन्वय र सहजीकरण गर्ने, स्थानीय तहबाट प्राप्त प्रगति प्रतिवेदनको आधारमा जिल्लाको मानव अधिकार स्थितिको समीक्षा गर्ने लक्ष्य रहेको छ । समितिको बैठक प्रत्येक तीन महिनाको एक पटक बस्ने निर्णय कार्य योजनामा उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको अध्यक्षतामा ०८३ भदौ २६ गते बसेको बैठकले जिल्ला समिति गठन गरी प्रमुख लामाको संयोजकत्वमा कार्यसमिति चयन गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






