मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं राष्ट्रिय दिवस सम्पन्न

काठमाडौँ । २०८२ भदौ २० गते

मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवस र्‍यालीसहित मनाइएको छ । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस ०८२ भदौ २० गते मनाइएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), माईती नेपाल, शान्ति फाण्डेसनलगायतका संघ संस्थाहरुसहितको सहभागितामा भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी कार्यक्रम भद्रकाली, सुन्धारा, महाङ्कालस्थान, जमलहुँदै राष्ट्रिय नाचघरमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । र्‍यालीका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्दै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनु भयो ।

Photo 2025-09-05 Kathmandu-02

र्‍यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

Photo 2025-09-05 Kathmandu-03

वि.सं. २०६३ साल भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुमोदन गरेको दिनलाई स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले बताउनु भयो ।

दीपकप्रसाद घिमिरे