मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
रामेछाप । २०८० भदौ १९ गते
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी जिल्लाभर मनाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि समेत रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको आयोजनमा ०८० भदौ १९ गते जिल्लाका विभिन्न विद्यालयहरूमा मानव बेचबिखन विरुद्धको सचेतना कक्षा सञ्चालन गरिएको छ । समितिका सदस्य तथा विज्ञलाई विभिन्न विद्यालयमा सहजकर्ताको रूपमा पठाएर सचेतना कक्षा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । जस अनुसार सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालालाई लिटिलस्टार इङ्लिस बोर्डिङ स्कुल, जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेललाई तामाकोसी अङ्ग्रेजी आवासीय विद्यालय, डिएसपी होमबहादुर पराजुलीलाई मन्थली मावि, सशस्त्र प्रहरीका डीएसपी शेखर दवाडीलाई नागकन्या मावि, इन्सेकका प्रतिनिधि नवराज पथिकलाई भैरवी मावि सुनारपानी, गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेललाई कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुल, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँलाई रुद्राक्षेश्वर मावि, माइती नेपालका प्रतिनिधि हिमाल ढुङ्गेललाई गौरीशङ्कर मावि रामेछापमा सहजकर्ताको रूपमा खटाइएको थियो ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई वि.स. २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिनको स्मरणमा नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूल भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइँएको हो । दिवसलाई सफल बनाउन रचनात्मक, सृजनात्मक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । दिवसको अवसरमा भदौ २० गते मन्थली बजारमा सचेतना र्याली गरिने उहाँले जानकारी दिनुभयो ।
नवराज घिमिरे
HUMAN RIGHTS NEWS PORTAL






