युवा विद्यार्थीद्वारा मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवलोकन तथा अभिमुखीकरण सम्पन्न

बाँके । २०८२ वैशाख २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार सूचना तथा स्रोत केन्द्रको ०८३ वैशाख २५ गते युवा विद्यार्थीहरूले अध्ययन अवलोकन गरेका छन् । सोही अवसरमा विद्यार्थीहरूलाई आधारभूत मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

कार्यक्रममा मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवधारणा, महत्व तथा मानव अधिकारसम्बन्धी आधारभूत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा मानव अधिकारका सवालमा अध्ययन–अनुसन्धान प्रवर्द्धन गर्ने, इन्सेकद्वारा संकलित अभिलेख तथा प्रकाशनको उपयोगबारे जानकारी दिने तथा युवा मानव अधिकार रक्षकहरूलाई मानव अधिकारप्रति सचेत बनाउने उद्देश्य रहेको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले जानकारी दिनुभयो ।

        

साथै संयोजक भोला महतले मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गर्नुको उद्देश्य, यसको अवधारणा र महत्वबारे जानकारी गराउनुभयो । उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसम्बन्धी दस्तावेजिकरण, इन्सेकका विभिन्न प्रकाशन, विषयगत पुस्तक तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दस्तावेजहरू स्रोत केन्द्रमा उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले अध्ययन तथा अनुसन्धानका लागि स्रोत केन्द्रको उपयोग गर्न सहभागी विद्यार्थीहरूलाई आग्रह समेत गर्नुभयो ।

   

कार्यक्रममा अधिवक्ता बसन्त गौतमले मानव अधिकारको परिचय र परिभाषा, मानव अधिकारका सिद्धान्त, अन्तर्राष्ट्रिय कानून तथा महासन्धिहरू, नेपालको संविधानमा व्यवस्था भएका मौलिक हक, नागरिक कर्तव्य तथा मानव अधिकार संरक्षणका संयन्त्रहरूबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित आदर्श माध्यमिक विद्यालयका स्नातकतहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।   

ध्रुबराज शर्मा