यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

 

यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

जोशीपुर गाउँपालिका–४ दहारवेरियाकी सात वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाको बुवालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित पक्षले मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यकम फोकलपर्सन राजकुमार चौधरीले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ कात्तिक १३ गते १५ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिनुभएको थियो ।

बालिकाको स्वस्थ्य परीक्षण कात्तिक २२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

मैनामोती चौधरी