राजनीतिक दलहरु समयमानुक्ूल हुनुपर्ने इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले जोड दिनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले पुस ९ गते वीरेन्द्रनगरमा आयोजित निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व आयुक्त प्याकुरेलले उक्त कुरामा जोड दिनु भएको हो । राजनीतिक दल बुढो नहुने बताउँदै उहाँले दल समयानुकूल हुन नसके प्रजा परिषद्को हालतमा अहिलेका दल हुनसक्ने बताउनु भयो ।
सरकारको अर्जुन दृष्टि चुनाव केन्द्रित हुनुपर्ने बताउदै सरकारले पुराना दललाई रुष्ट गराउन नहुने बताउनु भयो । हामीहरु सिद्धान्त र नैतिकतामा उभिनु पर्छ भन्दै भदौ २३ र २४ गतेको घटनामा राज्य असफल भएको बताउनु भयो । उक्त घटनाको जिम्मेवारी तत्कालीन सरकार प्रमुखले लिनुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुशील थापाले युवा तथा जेनजी समूहले दललाई विरोध गरेर होइन परिवर्तनका एजेण्डा बोक्नुपर्ने सुझाव दिनु भयो । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिमाया शर्माले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला उपसभापति टोपबहादुर रावतले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको बताउदै भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने प्रतिवद्धता जनाउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रदेश प्रवक्ता हरि अधिकारीले युवाले उठाएका सवालमा पार्टी गम्भीर रहेको बताउनु भयो ।

जेनजी अगुवा सुप्रिया राज्य लक्ष्मी शाहले राजनीतिक दलले जेनजी प्रति आग्रह पूर्वाग्रह नराखी अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिनु भयो । युवाले सुशासन, भ्रष्टाचारका विरुद्धमा आन्दोलन गरेको र आन्दोलनबाट परिवर्तन त भयो तर हामीहरु डर त्रासमा बस्नु परेको गुनासो गर्नु भयो ।
नेपाल जेन जी फ्रन्टका आदर्श विक्रम सिंहले राजनीतिक दलको सिण्डीकेट अन्त्य हुनुपर्नेमा जोड दिनु भयो । जेनजी अगुवा प्रकाश शाहीले जेनजीलाई आतंककारी जस्तो दृष्टीकोणले नहेर्न सुझाव दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निमित्त कार्यालय प्रमुख मान बहादुर कार्कीले निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्ने बताउनु भयो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईले निर्वाचन सम्बन्धमा भए गरेका कार्य प्रगतिका विषयमा चर्चा गर्नु भएको थियो ।
इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचनका विषयमा सरोकारवाला निकायबीच साझा बुझाई बनाउदै एक आपसमा संवाद, विश्वास र सहकार्य निर्माणका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, युवा मानव अधिकार रक्षक, जेनजी तथा युवा समुदायका अगुवा, गैर सरकारी संस्था महासंघ लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






