लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा कार्यक्रम सम्पन्न

कास्की । २०७८ मङ्सिर १६ गते

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १४ गते अन्नपूर्ण गाउँपालिकामा  कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले सामाजिक विकास कार्यालयको वार्षिक नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउदै प्रस्तुति दिनुभएको थियो ।

उहाँले कार्यालयले शिक्षा, विज्ञान, महिला, बालबलिका तथा जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य गङ्गा कुँवरले महिला हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘घरैबाट सुरु गरौ, महिला हिसा अन्त्य गरौै’ लाई जरैबाट बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनिकरणको लागि प्रचारप्रसार गरी जोखिममा रहेका समुदायको नियमीत अनुगमन गर्नुपर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालिका पूर्व मानव अधिकार निगरानी समूहका सदस्य राजु सुनारले इन्सेकले गर्ने यस्ता कार्यक्रमहरुले धेरै कुरा सिकाएको बताउनुभयो । उहाँले महिला हिंसा घरघरमै भैरहेको बताउदै यस्ता हिंसा न्यूनिकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले हिंसाको बारेमा नागरिकहरू सचेत रहेको तर ती कुरालाई व्यवहारमा उतारे परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले हिंसाविरुद्ध अभियान आफैबाट सूरु गरौ र यस्ता हिंसाविरुद्धको अभियानमा गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष इन्द्र बहादुर थापाले कार्यक्रममा व्यक्त भएका कुरा सबैले व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।  ‘संविधानले हामीलाई आधिकार दिएको छ तर व्यवहारमा कार्यान्वयन नहुँदा पीडितले न्याय पाउन सकेका छैनन ।’–उहाँले भन्नुभयो–‘बनेका कानुन कार्यान्वयन भए हिंसा न्यूनिकरण हुने छ ।’ इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले लैङ्गिक हिंसा र कानुनी उपचारको बारेमा र इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले महिला हिंसा र महिला अधिकारको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

इन्सेक, गण्डकी प्रदेश कार्यालय