विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश । २०८२ चैत ७ गते

६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा जातीय विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरएको छ।

‘दलित समुदायको न्यायमा पहुंचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन´ भन्ने मूल नाराका साथ चैत ७ गते  इन्सेक, सिसिमार कर्णाली प्रदेश, फेडाे, डब्लुएचआर, सोसेक नेपाल, आवाज संस्था र क्याक्माको संयुक्त आयोजनाम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा सरोकारवाला, अधिकारकर्मी तथा बालबालिकाले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले नेपालमा जातीय विभेद विरुद्ध कानुनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहेको बताउनु भयाे। उहाँले स्थानीय तहले विभेदविरुद्ध सचेतना र पीडितमैत्री सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले संविधान र कानुनले समानताको ग्यारेन्टी गरे पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गर्नुभयाे । उहाँले राज्यका निकायले पीडितलाई न्याय दिलाउने प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयाे।

   

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले कर्णालीमा जातीय विभेदका घटना अझै भइरहेकाे भन्दै तथ्याङ्कले पनि त्यसको पुष्टि गर्ने बताउनु भयाे । उहाँले पीडितले न्याय पाउन ढिलाइ हुने, उजुरी दर्ता गर्न डराउने प्रवृत्ति र सामाजिक दबाब मुख्य चुनौतीका रूपमा रहेको बताउनु भयाे ।

दलित सेवा संघ सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले कानुन कार्यान्वयनमा कमजोरी, दोषीमाथि कारबाही नहुनु र सामाजिक चेतनाको अभावका कारण विभेदका घटना दोहोरिइरहेको बताउनु भयाे। उहाँले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको धारणा राख्नुभयाे ।

अधिवक्ता गीता कोइरालाले जातीय छुवाछुत तथा विभेद विरुद्धको कानुनी प्रावधान पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनु भयाे । उहाँले पीडितले न्याय पाउने सुनिश्चितता गर्न कानुनी साक्षरता र निःशुल्क कानुनी सहयोग विस्तार गर्नुपर्ने सुझाव दिनुभयाे।

कार्यक्रममा सहभागी मालती विक, संगिता परियार र अञ्जलि बिसीले जातकै आधारमा दैनिक जीवनमै विभेद भोग्नुपरेको अनुभव सुनाउँदै शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसर नपाउँदा अझै पछि परेको गुनासो गर्नुभयाे । उनीहरूले विभेद अन्त्यका लागि व्यवहार परिवर्तन जरुरी रहेको बताउनु भयाे ।

बाल सञ्जाल कर्णाली प्रदेशका सचिव बसन्त नेपालीले जातीय विभेदको असर बालबालिकामा गहिरो रूपमा पर्ने उल्लेख गर्दै विद्यालयदेखि नै समानता र सहिष्णुताको शिक्षा दिनुपर्ने बताउनु भयाे । उहाँले विभेदमुक्त समाज निर्माणमा बालबालिकाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयाे ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा बालबालिकाको सहभागिता रहेको थियो। सहभागीहरूले जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सचेतना अभिवृद्धि र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा जातीय विभेद तथा रंगभेद अन्त्यका लागि सामूहिक पहल, सचेतना अभिवृद्धि तथा समानता स्थापनाको आवश्यकता माथि जोड दिइएको थियो।

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे उद्घाेषण सिसिआर कर्णाली प्रदेशका निर्देशक टेकराज आचार्यले गर्नुभएकाे थियाे ।

कर्णाली प्रदेश कार्यालय