विश्वव्यापी आवधिक समीक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

ललितपुर । २०८२ पुस १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) को आयोजनामा दुई दिने विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला २०८२ पुस ९ गते ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रम समापन सत्रमा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले यूपीआरकालागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल ५ सय ३० भन्दा बढी गैससको संयुक्त अभियान हो । विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) मा नेपालको समग्र मानव अधिकार अवस्थाको प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ मानव अधिकारको उच्च आयुक्तको कार्यालय मार्फत मानव अधिकार परिषद्मा पेस गर्ने र नेपाललाई प्राप्त सुझावहरूको कार्यान्वयनको अवस्थाको नियमितरूपमा अनुगमन गर्नका लागि सन् २००८ मा यो सञ्जाल स्थापना गरिएकाले यसले राज्यलाई मानव अधिकार र नागरिकको मौलिक हक कार्यान्यवनका लागि जबाफदेही बनाउने बताउनु भयो।

  

आगामी जनवरी २०२६ को अन्तिम साता स्वीटजरल्याडको, जेनेभामा हुन गइरहेको फाइनल समीक्षामा नेपाली गैरसरकारी संस्थाको सञ्जालको तयारी बारेमा छलफल गर्न सरकारी संस्थाहरु र राष्ट्रिय मानव अधिकार संस्थाहरुका प्रतिनिधिहरुसँग यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

कार्यशालामा नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), यूपीआरकालागि महिला सञ्जालको सचिवालय महिला पुनस्थापना केन्द्र (ओरेक), नेपाल डर्वन रिभ्यू कन्फरेन्स फलोअप कमिटी (डिआरसीएफसी) को सचिवालय राष्ट्रिय आवदिवासी जनजाती महिलासँग आबद्ध नागरिक समाज, विभिन्न संस्थाका प्रतिनिधि तथा राष्टिय मानव अधिकार आयोगकी उपसचिव माया शर्माको सहभागीता रहेको थियो।

कार्यशालामा इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले विश्वव्यापी आवधिक समीक्षाको परिचय, यसको कार्यप्रणाली तथा विभिन्न समयमा नेपालले पेश गरेको प्रतिवेदन र अन्तर्राष्टिय समुदायले नेपाललाई दिएको सुझाव बारेमा विस्तृत जानकारी गराउनु भयो।

काठमाडौ स्कुल अफ ल का सहप्राध्यापक कपिल अर्यालले उत्कृष्ट प्रतिवेदन तयारीका लागि समूह अभ्यास तथा नेपाली गैरसरकारी संस्थाको सञ्जालको तर्फबाट पेश गरिने प्रतिवेदन कार्यप्रणाली बारेमा सहजीकरण गर्नुभयो। यसैगरी अन्तरक्रियामा मूल्यांकन तथा प्रतिवेदनको चक्रियप्रणाली तथा नागरिक समाजको भूमिका बारेमा इन्सेक पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।  

कृष्णप्रसाद नेपाल